ज्येष्ठ नागरिकहरूलाई रेडियो बाँड्ने वडा अध्यक्षको घोषणा, रेडियोले विषयवस्तु परिमार्जन गर्न आवश्यक  

२०८० फाल्गुण १ मंगलबार ०९:२३:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट ८ का वडा अध्यक्ष प्रेमप्रसाद सापकोटाले आफ्नो वडामा रहेका ज्येष्ठ नागरिकहरूका लागि रेडियो सेट वितरण गर्ने घोषणा गर्नुभएको छ ।  तेह्रौँ विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो विजय एफएम १०१.६ ले आयोजना गरेको “रेडियोको आवश्यकता र भविष्यका सन्दर्भमा” गरिएको रेडियो बहस कार्यक्रममा वडा अध्यक्ष सापकोटाले सामुदायिक गतिविधि थाहा पाउने सहज माध्यम रेडियो भएकाले ज्येष्ठ नागरिकका लागि रेडियो सेट वितरण गर्ने उद्घोष गरेको बताउनुभयो ।  
स्थानीय निकायका हरेक गतिविधि पारदर्शी बनाउन, सुशासन कायम गर्न, नैतिक शिक्षा बढाउन रेडियो प्रभावकारी माध्यम रहेको वडा अध्यक्ष सापकोटाले बताउनुभयो । स्थानीय निकायको विकासको सहयात्रीको रुपमा रेडियो पाठशालाका रुपमा रहेको पनि वडा अध्यक्ष सापकोटाले बताउनुभयो । 


रेडियो मानव समुदायको निकट एवं सरल र भरपर्दो माध्यमको रूपमा स्थापित छ । विश्वमा प्रविधिले ल्याएको परिवर्तनसँगै रेडियोको विकास र विस्तारमा पनि परिवर्तन भएको छ । परिवर्तित समयमा श्रोताको चाहना अनुरुप, युवाको आवश्यकता अनुरुप, विषयवस्तु परिमार्जन गरेर अघि बढ्न आवश्यक भएको विजय एफएमका संस्थापक अध्यक्ष खेमराज सापकोटाले बताउनुभयो । अध्यक्ष सापकोटाले अब रेडियोहरु विधागत रुपमा छुट्टाछुट्टै भएर अघि बढ्न आवश्यक भएको बताउनुभयो । 


रेडियो प्रविधिको विकास र आविश्कारले गर्दा विश्व समुदायलाई रेडियोका विषयवस्तुले तीब्र गतिमा जोड्ने काम गरेको छ । प्राकृतिक प्रकोप, सामाजिक आर्थिक समस्या, महामारी जस्तोसुकै परिस्थितिमा पनि रेडियोले संकट न्यूनिकरणमा योगदान दिदै आएको छ ।  रेडियो बहस कार्यक्रममा चितवनको पहिलो रेडियो सिनर्जी एफएमका संस्थापक सञ्चालक सहन प्रधानले पनि रेडियोको भविष्य सुनिश्चितताका लागि विषयवस्तु परिमार्जन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “ रेडियो अब स्थानीय माध्यम रहेन, रेडियो ग्लोबल्ली भइसकेको छ, विषयवस्तुमा परिमार्जन ल्याउन आवश्यक छ । चितवन आसपासबाट मात्र मानिस १० लाख विदेशमा रहेका छन् । अब उनिहरुको विषयवस्तु पनि रेडियोमा आउन जरुरी छ ।”

दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै विजय एफएम सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष त्रिलोचन सापकोटाले सबै रेडियो र रेडियोकर्मीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ । सापकोटाले भन्नुभयो “आगामी दिनमा विकटमा रहेका, अन्य माध्यमको पहुँचबाहिर रहेका, अल्पसंख्यक, विपन्न र आवाजविहीनहरूको आवाजको रूपमा आम नागरिकलाई सही सूचना सम्प्रेषणमा रेडियोको भूमिका अझ प्रभावकारी बनाउने छौँ ।” 


दिवसको अवसरमा आज विहान सामुदायिक रेडियो विजय एफएम १०१.६ मा रेडियोको आवश्यकता र भविष्यका सन्दर्भमा रेडियो बहस कार्यक्रम गरेको छ । सहायक समाचार प्रमुख पवित्रा पराजुलीले सहजीकरण गरेको कार्यक्रममा  नवलपरासी पूर्व र पश्चिम क्षेत्रकै पहिलो रेडियो विजय एफएमका संस्थापक अध्यक्ष खेमराज सापकोटा, चितवनको पहिलो रेडियो सिनर्जी एफएमका संस्थापक सञ्चालक सहन प्रधान, गैँडाकोट नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रेम सापकोटाको सहभागिता रहेको थियो ।  


विगत २ दशकदेखि नवलपरासीमा सञ्चालनमा आएको सामुदायिक रेडियो विजय एफएम १०१.६ मा विगत साढे २ वर्षमा मात्रै २५ हजार बढी स्थानीयले प्रत्यक्ष रुपमा आफ्ना विचार तथा भावना रेडियोका माध्यमबाट राखेको विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले बताउनुभयो । उपाध्यायका अनुसार सामुदायिक रेडियो शिक्षा, स्वास्थ्य, वित्तिय सचेतना, वातावरण संरक्षण, विकास र सुशासनका क्षेत्रमा काम गर्दै आएको छ । 


रेडियोको महत्व तथा भूमिकालाई मध्यनजर गर्दै संयुक्त राष्ट्र संघको आव्हानमा सन् २०१२ फेबु्रअरी १३ का दिनबाट प्रत्येक वर्षको फेब्रुअरी १३ मा विश्वभर रेडियो दिवस मनाउन थालिएको हो ।