लगातार खोकी, क्षयरोग पो हो की ! गैँडाकोटमा पालिका स्तरीय अभिमुखिकरण

२०८० चैत ३ शनिबार १६:५९:०० मा प्रकाशित

गैँडाकोट । लगातारको खोकी क्षयरोग पो हो की ! भनेर सचेत हुनुपर्ने गैँडाकोट नगर स्वास्थ्य शाखाका प्रमुख झलकराज पौडेलले बताउनुभएको छ ।

यसको सङ्क्रमण दर उच्च रहेकोले पनि अरुलाई सार्नबाट जोगाउन उहाँले परीक्षणमा जोड दिनुभयो । गैँडाकोट नगरपालिका स्तरीय अभिमुखिकरण कार्यक्रममा उहाँले कोभिडबाट भन्दा बढी मृत्युदर क्षयरोगबाट हुने गरेको बताउँदै त्यो रोक्न सबैको हातेमालो जरुरी रहेको बताउनुभयो । उहाँले नेपालमा क्षयरोगबाट मृत्यु हुने दर ३ प्रतिशत रहेको बताउनुभयो । गण्डकी प्रदेशमा सबैभन्दा बढी नवलपुर जिल्लामा रहेको उहाँको भनाई थियो । उहाँले गैँडाकोटमा समेत चालु आर्थिक वर्षमा ५७ जनामा पुष्टि भइसकेको पाइएको बताउनुभयो । 

गैँडाकोटमा संभावित क्षयरोगका बिरामीको बसोबास स्थलमै गई खोज पड्ताल गरी बिरामी पत्ता लागउन अभियान नै सञ्चालन गरिएको छ । आफै स्वास्थ्य संस्थामा आई परीक्षण गराउने क्रम न्यून हुन थालेपछि राष्ट्रिय कार्यक्रम अनुसार नै यो अभियान सञ्चालन गरिएको गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । 

गैँडाकोटमा गत आर्थिक वर्ष १२९ जनामा क्षयरोग देखिएको क्षयरोग मुक्त अभियान गैँडाकोटका संयोजक नारायण सापकोटाले बताउनुभयो ।

गैँडाकोट नगरपालिका स्तरीय अभिमुखिकरण कार्यक्रममा नगर प्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइराला, प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनाल लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो । 

क्षयरोग माईक्रोव्याक्टेरियम ट्युवरकोलोसिस भन्ने किटाणुबाट लाग्ने सङ्क्रामक रोग हो । यसले विशेष रूपमा फोक्सोलाई असर गर्छ । साथै फोक्सो बाहेक अन्य अंगहरुमा पनि यो रोग लाग्दछ । क्षयरोग ८० प्रतिशत जति फोक्सोको क्षयरोग हुने भएकोले विरामीले श्वास फेर्दा हावामा किटाणु फैलिन्छ । जस्तैः खकारको छिटाहरु रसो किटाणुयुक्त हावाबाट सास लिँदा स्वस्थ मानिसमा यो किटाणु सर्दछ । 

क्षयरोगका लक्षण 

– लगातार २ हप्ता वा बढी समय सम्म खोकी लाग्न सक्दछ ।
– खानामा अरुचि हुन्छ, दुब्लाउदै जान्छ र कमजोर हुने ।
– साँझ पख मन्द ज्वरो आँउछ । 
– समयमा उपचार नगरेमा मृत्यु पनि हुन सक्छ ।


क्षयरोगको शंका लागेमा के गर्ने ?

दुई हप्ता वा बढी समयसम्म खोकी लागेका व्यक्तिले नजिकको स्वास्थ्य संस्थामा गएर खकार जाँच गरी रोग देखिएमा ६ महिनासम्म नियमित औषधि सेवन गरेमा यो रोग पुर्ण निको हुन्छ । क्षयरोगको उपचार तथानिदान सेवा सबै स्वास्थ्य संस्थामा निशुल्क पाईन्छ । 
– क्षयरोग विरामीको सम्पर्कमा आएका व्यक्ति, बालबालिका र वृद्ध वृद्धाहरुले पनि यस रोगको जाँच गरी उपचार गर्नु पर्दछ । 
– क्षयरोग लागेका व्यक्तीले खोक्दा हाँछ्यु गर्दा मुख छोप्ने गर्नुपर्दछ ।
– भिडभाडमा निस्किदा मास्क लगाउनु पर्दछ ।