गैँडाकोटका १ हजार १ सय ८९ विद्यार्थीले एसईई परीक्षा दिदैँ  

गैँडाकोटमा ४ वटा परीक्षा केन्द्र

२०८० चैत ६ मंगलबार १७:४८:०० मा प्रकाशित

गैँडाकोट । माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) २०८० मा गैँडाकोटका १ हजार १ सय ८९ विद्यार्थी सहभागी हुँदैछन् । गैँडाकोटका सामुदायिक र संस्थागत गरी २४ वटा विद्यालयका १ हजार १ सय ८९ विद्यार्थी एसईई परीक्षामा सहभागी हुन लागेका हुन् ।  

गैँडाकोटमा ४ वटा परीक्षा केन्द्र तोकिएको छ । गैँडाकोटका पाँच वटा विद्यालयको परीक्षा केन्द्र भने छिमेकी नगरपालिका देवचुलीको रजहरमा रहेका दुई विद्यालयमा समेत परेका छन् । 

गैँडाकोट नगरपालिका भित्र लक्ष्मी माध्यमिक विद्यालय अमरापुरी, कालिका नमुना माध्यमिक विद्यालय गैंडाकोट, जनक माध्यमिक विद्यालय गैंडाकोट र नेपाल राष्ट्रिय शमसेर आदर्श माध्यमिक विद्यालय गैंडाकोटमा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय ईकाइ नवलपुरका प्रमुख रुद्र शर्माले जानकारी दिनुभयो । 

कालिका नमुना मावि केन्द्रमा जनक नमुना माविबाट १८५ जना, विजय सामुदायिक शिक्षा सदनबाट ६३ जना, ज्ञानकुञ्ज इङ्गलिस बोर्डिङ स्कूलबाट १२ जना गरी २६० जनाले परीक्षा दिनेछन् । 

जनक नमुना मावि केन्द्रमा कालिका नमुना माविबाट २ जना ग्रेडवृद्धि सहित ११६ जना, नेपाल राष्ट्रिय शमसेर आर्दश माविबाट १ जना ग्रेड वृद्धि सहित ४८ जना, साइनिङ इङ्गलिस बोर्डिङ स्कूलबाट २५ जना, नारायणी माविबाट २० जना, कृष्णगण्डकी माविबाट ३५ जना, श्रीमद् रामनुज वेद विद्याश्रमबाट ३ जना गरी २४७ जनाले परीक्षा दिनेछन् । 

नेपाल राष्ट्रिय शमसेर आदर्श मावि केन्द्रमा गैँडाकोट नमुना माविबाट ७० जना, कन्टिनेन्टल इङ्गलिस बोर्डिङ स्कूलबाट २५ जना, सरस्वती निकेतन सेकेण्डरी बोर्डिङ स्कूलबाट ३४ जना, बाल विकास इङ्गलिस बोर्डिङ स्कूलबाट ४७ जना, अक्सफोर्ड सेकेन्डरी स्कूलबाट २५ जना, गैँडाकोट इङ्गलिस स्कूलबाट ३४ जना गरी २३५ जनाले परीक्षा दिनेछन् । 

लक्ष्मी मावि अमरापुरी केन्द्रमा रत्नराज्य लक्ष्मी माविबाट ३६ प्राविधिक सहित ११८ जना, जनता माविबाट ९९ जना, अमरज्योति सेकेन्डरी स्कूलबाट ४० जना, बाल ज्योति माविबाट ११ जना गरी गैँडाकोटका २६८ जना सहभागी हुनेछन् । 

देवचुलीको रजहर स्थित बरचुली मावि केन्द्रमा लक्ष्मी माविबाट ९३ जना, अमर इङ्गलिस बोर्डिङ स्कूलबाट २४ जना, सुर्योदय विद्या मन्दिरबाट १४ जना, मुकुन्दसेन सेकेन्डरी बोर्डिङ स्कूलबाट २७ जनाले परिक्षा दिनेछन् । 

त्यस्तै देवचुली मावि रजहर केन्द्रबाट युनिक सेकेण्डरी इङ्गलिस् स्कूल अमरापुरीका २१ जनाले परीक्षा दिनेछन् । 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा १ सय ३९ वटा माध्यमिक विद्यालय रहेका छन् । जसमा अध्ययनरत ६ हजार १ सय ६५ विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । यस वर्षको एसईई परीक्षा आगामी चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुँदै छ ।

हाउगुजीका रुपमा नलिई मर्यादित रुपमा परीक्षामा सहभागी हुन आग्रह गर्दै गैँडाकोट नगरपालिका शिक्षा शाखा प्रमुख डा. बालकृष्ण चापागाईंले सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।