बाघ सहजै हेर्न मिल्ने गरी देवनगरमा वन्यजन्तु उद्धार केन्द्रको उद्घाटन 

२०८० चैत १४ बुधबार १४:००:०० मा प्रकाशित

चितवन । भरतपुर भ्रमण वर्षको अवसर पारेर दुर्लभ मानिएको पाटे बाघ सहजै हेर्न पाइने गरी भरतपुर ६ देवनगरमा वन्यजन्तु उद्धार केन्द्रको उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । केन्द्रको उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरको पर्यटनलाई दिगो बनाउन केन्द्रले सहयोग पुराउने विश्वास व्यक्त गर्नुभयो ।  

चितवन निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले समस्याग्रस्त भनेर उद्धार गरिएका दुईवटा बाघहरु यहाँ राखिएको जानकारी दिनुभयो । 

कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जा, मध्यवर्ती समितिका अध्यक्ष प्रकाश ढुङ्गनाले मन्तव्य राख्नुभएको थियो ।

टिकौली ढाटबाट बीस हजारी ताल जाने सडक हुँदै करिब ९ किमी दक्षिणतर्फ केन्द्र पर्छ । केन्द्रको परिसरमा रहेका मचानबाट हेर्न मिल्ने गरी २ वटा पाटे बाघलाई राखिएको छ । केन्द्रमा उद्धार गरी राखिएको दुई भाले ‘नरभक्षी बाघ’ हुन् । ती बाघ बाँके राष्ट्रिय निकुञ्ज र चितवनको बेसहर मध्यवर्ती सामुदायिक वनबाट नियन्त्रणमा लिइएको हो । हाल ८ वर्षको भाले बाघलाई बाँकेको राप्ती पीडित सामुदायिक वनबाट २०७८ साल फागुन १८ गते नियन्त्रणमा लिइएर चितवन ल्याइएको थियो । अर्को भाले बाघलाई २०७७ असोज १२ गते नियन्त्रणमा लिइएको थियो । 

भरतपुर भ्रमण वर्षको अवसर पारेर महानगरले नयाँ गन्तव्यका रुपमा दियालो बंगला र उद्धार केन्द्र सर्वसाधरणलाई खुला गरिएको हो ।