वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छः महासचिव पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको दोस्रो बैठकको उद्घाटन समारोहमा महासचिव पोखरेलले वर्तमान सरकारले विकास निर्माण र मुलुकको समृद्धिका लागि काम गरिरहेको बताउनुभयो ।
“राजस्व वृद्धि र विदेशी मुद्राको सञ्चिति बढाउनेछ, सडक निर्माणको काम धमाधम भइरहेको छ”, उहाँले भन्नुभयो, “यो सरकार आएपछि विआरआईमा सम्झौता भयो, यो महत्वपूर्ण काम हो ।”
सूचना र प्रविधिको प्रयोगले धेरै कामकाज गर्न सहज भए पनि त्यसको दुरुपयोगले नेपाली समाजमा धेरै असहजता र अस्थिरता निम्त्याएको महासचिव पोखरेलको भनाइ थियोे । उहाँले गरिबी निवारणमा नेपालले राम्रो प्रगति गरेको र अहिले नेपाली समाज समानतातर्फ अघि बढेको उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापनापछि मुलुकले विकासमा फड्को मारेको स्पष्ट पार्नुभयो ।
“पत्रकारले सिर्जनात्मक भएर समाज र राष्ट्रका लागि भूमिका निवाह गर्नुपर्छ, सूचनाबाटै पत्रकारको सामथ्र्य बढ्छ”, महासचिव पोखरेलले भन्नुभयो । मुलुकलाई सही बाटोमा लैजाने र सबैभन्दा लोकप्रिय पार्टी एमाले भएको उल्लेख गर्दै उहाँले ‘समृद्ध नेपाल र सुखी नेपाली’को सङ्कल्प पूरा गर्न पार्टी अग्रसर भएको बताउनुभयो ।
एमाले सङ्गठन संयन्त्र प्रमुख भानुभक्त ढकालले प्रेस चौतारी नेपालको श्रमजीवी पत्रकार र मुलुकको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान रहेको स्मरण गर्नुभयो । नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष नितु पण्डितले श्रमजीवी पत्रकारको पेसागत र व्यावसायिक हकहितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सञ्चारिका समूह नेपालकी अध्यक्ष कमला पन्थीले सञ्चारिकाले महिला पत्रकारको पेसागत तथा व्यावसायिक सुरक्षाका लागि काम गर्ने बताउनुभयो । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का अध्यक्ष लक्की चौधरीले फोनिज र चौतारीको उद्देश्य श्रमजीवी पत्रकारको हित नै भएकाले सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।
सो अवसरमा चौतारीले सञ्चारिका समूहका नवनिर्वाचित अध्यक्ष पन्थीसहित पदाधिकारी तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का नवनिर्वाचित अध्यक्ष लक्की चौधरीसहित पदाधिकारीलाई बधाई तथा शुभकामनासहित सम्मानित गरेको थियोे । रासस