असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न यथासम्भव कानुन बनाउन सभामुखको अपिल
2025-04-25-03-46-35.jpeg)
काठमाडौँ । सभामुख देवराज घिमिरेले असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न यथासम्भव कानुन बनाउन अपिल गर्नुभएको छ । प्रतिनिधिसभाको छैटौँ अधिवेशन प्रारम्भ भएको अवसरमा संसद्मा सङ्क्षिप्त सम्बोधन गर्दै सभामुख घिमिरेले संसद्ले निर्माण गर्नुपर्ने कानुनलाई यथासम्भव टुङ्ग्याउन सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।
“संसद्को मुख्य जिम्मेवारी कानुन निर्माण गर्नु नै हो”, सभामुखले भन्नुभयो, “समयमा नै कानुन बनाउन नसक्दा देखिएका असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न संसद्ले निर्माण गर्नुपर्ने कानुनलाई यथासम्भव टुङ्ग्याउन साझा प्रतिबद्धता आवश्यक छ ।”
संसद् जनताको आवाजको प्रतिनिधित्व गर्ने थलो भएको उल्लेख गर्दै सभामुख घिमिरेले संसद्मा राष्ट्रिय मुद्दाहरूमा बहस गरिने र जनताको चाहनाअनुरूप निर्णयहरू लिइने बताउनुभयो । उहाँले प्रतिनिधिसभाको आजदेखि सुरु भएको बजेट अधिवेशन सरकारको नीति तथा कार्यक्रम, बजेटसँगै कानुन निर्माणका लागि पनि सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
संसद्को प्रभावकारिता अभिवृद्धि गर्न सकेमात्रै लोकतन्त्रको सुदृढीकरण, सुशासन, जवाफदेहिता र जनउत्तरदायी शासनप्रणाली निर्माणमा सहयोग पुग्ने सभामुखको भनाइ छ । “प्रभावकारी संसद्ले मात्रै देशका समस्या समाधान गर्न उपयुक्त नीति तथा कानुन बनाउँछ, सामाजिक न्याय, आर्थिक विकास र राष्ट्रिय समृद्धिमा टेवा पु¥याउने भएकाले आगामी अधिवेशन सफल बनाउन अपिल गर्दछु”, उहाँले भन्नुभयो ।
बजेट अधिवेशनमा संसद्को कामको चापलाई ध्यान दिँदै सभामुखले शनिबार र सार्वजनिक बिदाबाहेक संसद् सञ्चालन गरेर विद्यालय शिक्षा विधेयक, सङ्घीय निजामती सेवा विधेयक टुङ्ग्याउने गृहकार्य गर्नुभएको छ । नीति तथा कार्यक्रम र बजेटका बीच पनि शिक्षा, निजामतीलगायतका महत्वपूर्ण विधेयकलाई अघि बढाउन संसद्को आगामी क्यालेन्डरमा समय सुरक्षित गरिएको छ ।
दुवै विधेयक हाल सम्बन्धित समितिमा रहेकाले संसद्मा छलफल गर्ने र पारित गर्ने काम अघि बढ्न सकेको छैन । सभामुखले समितिको प्रतिवेदन आएलगत्तै विद्यालय शिक्षा विधेयक, सङ्घीय निजामती सेवा विधेयकलाई सभाबाट पारित गर्ने कार्यसूची तय गर्न सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिनुभएको छ ।
सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक एवं प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकसँगको छलफलमा पनि संविधान र सङ्घीयता कार्यान्वयनसँग जोडिएका शिक्षा, कर्मचारी, प्रहरीलगायतका विधेयकलाई टुङ्गोमा नपु¥याएसम्म समितिको बैठक निरन्तर सञ्चालन गर्न र सांसदहरूलाई राजधानी बाहिरको कार्यक्रम नराख्ने वातावरण बनाउन निर्देशन गर्नुभएको थियो । निरन्तर हुने छलफलका लागि आवश्यक व्यवस्थापकीय प्रबन्ध गर्न अर्थ मन्त्रालयले समेत स्वीकृति दिइसकेको सभामुखले सदनलाई जानकारी दिनुभएको छ । रासस