गैंडाकोट–६ मा महिलाको निशुल्क पाठेघर र स्तन परीक्षण सम्पन्न

२०८२ बैशाख १२ शुक्रबार १७:२९:०० मा प्रकाशित

गैंडाकोट । स्वाबलम्बन महिला समूह गैंडाकोट–६ को आयोजनामा  गैंडाकोट–६ मा महिलाहरूका लागि निशुल्क पाठेघर र स्तन परीक्षण शिविर बुधबार सम्पन्न भएको छ। स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित सो शिविरमा ४५ जना महिलाले पाठेघर तथा ५५ जना महिलाले स्तन परीक्षण गराएका छन्।

शिविरमा बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक टोलीले परीक्षण गरेको थियो। उक्त टोलीमा डा. अस्मिता राणा, नर्सिङ सुपरभाइजर अयोध्या पाठक, वरिष्ठ स्टाफ नर्स विष्णुमाया अधिकारी लगायतको सहभागिता रहेको थियो। परीक्षणसँगै महिलाहरूलाई क्यान्सरको प्रारम्भिक लक्षण, रोकथाम र उपचारबारे परामर्श (काउन्सिलिङ) पनि प्रदान गरिएको थियो। परामर्श कार्य डा. राणा र नर्स पाठकले संचालन गर्नुभएको थियो।

स्वाबलम्बन महिला समूह गैंडाकोट–६ की अध्यक्ष कल्पना शर्माले महिलाहरूले परिवार र छोराछोरीको स्वास्थ्यप्रति जस्तै आफ्नो स्वास्थ्यप्रति पनि उत्तिकै ध्यान दिन जरुरी रहेको बताउँदै यस्ता स्वास्थ्य शिविरहरू आवश्यक र प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो।

परीक्षणका क्रममा ३ जना महिलामा सामान्य समस्या देखिएको जानकारी समेत अस्पताल टोलीले दिएको छ।