बेटर चितवनले महानगरलाई बुझायो “फोहोरको अडिट रिपोर्ट”

चितवन । बेटर चितवन र नदीसँगै हामी अभियानले गरेको नारायणी नदीमा गरिएको फाहोरको नक्साङ्कन तथा अडिटको प्रतिवेदन भरतपुर महानगरलाई हस्तान्तरण गरेकोे छ । बेटर चितवनका संस्थापक सागर कार्की र सदस्य आकृति सुवेदीले भरतपुर महानगर प्रमुख रेणु दाहाललाई फाहोरको नक्साङकन तथा अडिट रिपोर्ट हस्तान्तरण गर्नुभएको हो । भरतपुर उपमहानगर प्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेललाई पनि प्रतिवेदन हस्तान्तरण गरिएको छ ।
भरतपुर महानगरपालिका तर्फको नारायणी नदी किनारका विभिन्न स्थानमा फोहोर मैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेको र नीतिगत सुधारको बाटो अपनाउन बेटर चितवनले भरतपुर महानगरलाई अनुरोध गरेको छ ।
बेटर चितवनले गरेको अध्ययनका अनुसार नारायणी नदी संकटतर्फ धकेलिएको देखिएको छ । देवघाटधाम क्षेत्र देखि गोलाघाटसम्म ८ स्थानमा गरिएको अध्ययन अनुसार नारायणी नदी प्लाष्टिक, कपडा, सिसा, औषधिजन्य र जैविक फोहोरले ग्रसित बन्दै गएको छ । मानिसकै लापर्वाहीका कारण नारायणी नदी संकट तर्फ गइरहेको जनाएको छ ।
सबैभन्दा बढी फोहोर नगरवन क्षेत्रमा २२.७ प्रतिशत र सबैभन्दा कम फोहोर कुसुम पार्कमा ८.६ प्रतिशत फोहोर रहेको पाइएको अध्ययन गरेको संस्था बेटर चितवनले जनाएको छ । प्लाष्टिकको मात्राले सबै भन्दा धेरै अर्थात ४२ दशमलब ५५ प्रतिशत हिस्सा ओगटेको छ ।
प्लाष्टिक देवघाट क्षेत्रका लागि सबैभन्दा चुनौतीपूर्ण देखिएको बेटर चितवनका संस्थापक सागर कार्कीले बताउनुभयो । देवघाटधाममा मात्रै प्लाष्टिकको फोहोर ७२.२४ प्रतिशत पाइएको छ ।
नारायणी नदीमा कुहिने फोहोर ७ दशमलब ८९ प्रतिशत, कागज ४ दशमलब ०३ प्रतिशत, धातस १ दशमलब ४९ प्रतिशत, सिसा १२ दशमलब ६२ प्रतिशत, अस्पतालजन्य ४ दशमलब ६९ प्रतिशत, कपडाजन्य १७ दशमलब १४ प्रतिशत, अन्य ५ दशमलब ६४ प्रतिशत, माटोको भाँडा २ दशमलब ६३ प्रतिशत र काठ १ दशमलब ३४ प्रतिशत रहेको बेटर चितवनले जनाएको छ ।
बेटर चितवनले अध्ययनको क्रममा १ सय २ दशमलब १८ केजी फोहोर संकलन गरेको थियो । जसमा सबैभन्दा धेरै फाहोर नारायणी नदी किनार प्रदर्शनी क्षेत्र र सबैभन्दा कम फाहोर गोलाघाटमा रहेको पाइएको थियो ।
बेटर चितवनले देवघाटधामको स्नानस्थल, दाहासंस्कार स्थल, जोरकुशुम पार्क, नारायणी नदी किनार प्रदर्शनी मार्ग, नदीकिनार विद्यालय पछि, नगरवन नदी किनार, भगेरिथान शिवघाट, गोलाघाट क्षेत्रलाई आधार मानेर फोहोरको संकलन, विभाजन, परीक्षण र विश्लेषण गरेको थियो ।
विश्व वन्यजन्तु कोष नेपाल (डब्लु डब्लु एफ नेपाल) को सहयोगमा सहमति लगायत चितवन तथा नवलपुरका विभिन्न संघसंस्थाहरुको साथमा नदी संरक्षणका लागि नदीसँगै हामी कार्यक्रम सञ्चालन भइरहेको छ । यसै अभियान अन्तर्गत नारायणी नदीमा भैरहेको फाहोरको अवस्था, विश्लेषण र समाधानको उपाय खोज्न बेटर चितवनले अध्ययन गरेको संस्थापक सागर कार्कीले बताउनुभयो ।