नारायणी नदीमा ४२ प्रतिशत बढी प्लाष्टिकजन्य फोहोर

२०८२ जेठ ७ मंगलबार ०७:२७:०० मा प्रकाशित

चितवन । बेटर चितवन र नदीसँगै हामी अभियानले गरेको एक अध्ययनका अनुसार नारायणी नदी संकटतर्फ धकेलिएको देखिएको छ । देवघाटधाम क्षेत्र देखि गोलाघाटसम्म ८ स्थानमा गरिएको अध्ययन अनुसार नारायणी नदी प्लाष्टिक, कपडा, सिसा, औषधिजन्य र जैविक फोहोरले ग्रसित बन्दै गएको छ । मानिसकै लापर्वाहीका कारण नारायणी नदी संकट तर्फ गइरहेको जनाएको छ ।


सबैभन्दा बढी फोहोर नगरवन क्षेत्रमा २२.७ प्रतिशत र सबैभन्दा कम फोहोर कुसुम पार्कमा ८.६ प्रतिशत फोहोर रहेको पाइएको अध्ययन गरेको संस्था बेटर चितवनले जनाएको छ । प्लाष्टिकको मात्राले सबै भन्दा धेरै अर्थात ४२ दशमलब ५५ प्रतिशत हिस्सा ओगटेको छ । 


प्लाष्टिक देवघाट क्षेत्रका लागि सबैभन्दा चुनौतीपूर्ण देखिएको बेटर चितवनका संस्थापक सागर कार्कीले बताउनुभयो । देवघाटधाममा मात्रै प्लाष्टिकको फोहोर ७२.२४ प्रतिशत पाइएको छ । 


नारायणी नदीमा कुहिने फोहोर ७ दशमलब ८९ प्रतिशत, कागज ४ दशमलब ०३ प्रतिशत, धातस १ दशमलब ४९ प्रतिशत, सिसा १२ दशमलब ६२ प्रतिशत, अस्पतालजन्य ४ दशमलब ६९ प्रतिशत, कपडाजन्य १७ दशमलब १४ प्रतिशत, अन्य ५ दशमलब ६४ प्रतिशत, माटोको भाँडा २ दशमलब ६३ प्रतिशत र काठ १ दशमलब ३४ प्रतिशत रहेको बेटर चितवनले जनाएको छ । 


बेटर चितवनले अध्ययनको क्रममा १ सय २ दशमलब १८ केजी फोहोर संकलन गरेको थियो  । जसमा सबैभन्दा धेरै फाहोर नारायणी नदी किनार प्रदर्शनी क्षेत्र र सबैभन्दा कम फाहोर गोलाघाटमा रहेको पाइएको थियो । 


बेटर चितवनले देवघाटधामको स्नानस्थ, दाहासंस्कार स्थल, जोरकुशुम पार्क, नारायणी नदी किनार प्रदर्शनी मार्ग, नदीकिनार विद्यालय पछि, नगरवन नदी किनार, भगेरिथान शिवघाट, गोलाघाट क्षेत्रलाई आधार मानेर फोहोरको संकलन, विभाजन, परीक्षण र विश्लेषण गरेको हो ।  

यो पनी पढ्नुहोस्  :  बेटर चितवनले महानगरलाई बुझायो “फोहोरको अडिट रिपोर्ट”


विश्व वन्यजन्तु कोष नेपाल (डब्लु डब्लु एफ नेपाल) को सहयोगमा सहमति लगायत चितवन तथा नवलपुरका विभिन्न संघसंस्थाहरुको साथमा नदी संरक्षणका लागि नदीसँगै हामी कार्यक्रम सञ्चालन भइरहेको छ । यसै अभियान अन्तर्गत नारायणी नदीमा भैरहेको फाहोरको अवस्था, विश्लेषण र समाधानको उपाय खोज्न बेटर चितवनले अध्ययन गरेको संस्थापक सागरकार्कीले बताउनुभयो । 


नारायणी नदीको संरक्षण तथा जनचेतना निर्माणका क्षेत्रमा सहमतिले विभिन्न काम गरिरहेको सहमति संस्थाका परियोजना संयोजक खेमराज खनालले बताउनुभयो । खनालले सहमतिले नदी संरक्षणका लागि एकसय ३० पटक भन्दा बढी नदी सरसफाईका कार्यक्रम गरिसकिएको बताउनुभयो । चितवन तथा नवलपुरका दुई वटा जलाधार क्षेत्रमा आफूहरुले काम गरिरहेको बताउनुभयो ।

नारायणी नदीको अस्तित्व जोगाउन सबै नागरिक स्तरबाट नदीमा हुने फोहोर न्यूनिकरण तर्फ लाग्न आवश्यक रहेको सहमति संस्थाका तर्फबाट खनालले पत्रकार सम्मेलनमा बताउनुभयो । 


बेटर चितवनले भरतपुर महानगरपालिकालार्य सबै तीर्थस्थल, घाट क्षेत्र, पर्यटकीय क्षेत्र र नदी किनारमा रंग अनुसार छुट्टिने फोहोर संकलन बिन अनिवार्य रुपमा राख्नुपर्ने सुझाब दिएको छ । ढल र मलमूत्र नदीमा मिसाउने कार्यलाई तुरुन्त रोक्न नीति निर्माण गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्ने, नदीमा फाहोर डम्प गर्ने कार्य पूर्ण रुपमा बन्द गरि सुरक्षित र उपयुक्त स्थानमा फाहोरको उचित व्यवस्थापन गर्ने, जैविक फोहोरको व्यवस्थापनको लागि सामुदायिक कम्पोस्ट युनिट स्थापना गरिनुपर्ने  सुझाब बेटर चितवनले दिएको छ । 


देवघाट र गोलाघाटमा विशेष गरी चाडपर्व, तीर्थयात्रा र मेला अवधिमा प्लाष्टिक झोला तथा एकल प्रयोग वस्तुहरुको पूर्ण प्रतिवन्ध आवश्यक रहेको सुझाब बेटर चितवनले गरेको अध्ययनमा उल्लेख गरिएको छ ।