जनकको झपर्दी भवनमा सभाकक्ष र विद्यार्थीलाई प्ले स्टेशन

२०८२ भदौ २० शुक्रबार ०८:१४:०० मा प्रकाशित


नवलपरासी पूर्व । जनक नमुना माध्यमिक विद्यालय झपर्दी शाखामा नवनिर्मित सभा कक्ष, प्ले स्टेशन तथा डिजिटल अध्ययन अध्यापन शुभारम्भ गरिएको छ। एक विशेष समारोहका बीच गैंडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले यसको उद्घाटन गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक चुडामणि शर्मा कडेलका अनुसार सभा कक्ष, प्ले स्टेशन तथा डिजिटल अध्ययन अध्यापनका लागि करिब ३५ लाख रुपैयाँ खर्च भएको छ। उहाँले विद्यार्थीलाई समयानुकूल अध्ययनमा जोड दिँदै विद्यालयले व्यवहारिक र सीपमूलक शिक्षामा प्राथमिकता दिँदै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा नगरप्रमुख अधिकारीले विद्यालयलाई साँच्चिकै नमुना विद्यालयको रुपमा प्रशंसा गर्दै विद्यालय स्थापना देखिनै यसले छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गर्नुभयो। उहाँले विद्यालयको प्रगतिमा प्रधानाध्यापक, शिक्षक, अभिभावक र सरोकारवालाको उल्लेखनीय योगदान रहेको पनि स्मरण गर्नुभयो।
त्यस्तै, गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले विद्यालय नमुना विद्यालय रहेको आफूले सुनेको बताउँदै आवश्यक सहयोग र समन्वय गर्न प्रतिवद्धता जनाउनुभयो ।
विद्यालय झपर्दी शाखा व्यवस्थापन उपसमिति संयोजक कमला तिवारीले सबैको सहयोग र साथले विद्यालयमा नवनिर्मित संरचना र डिजिटल अध्यापन सम्भव भएको बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष तेजप्रसाद घिमिरे, वडा नम्बर ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटा, शिक्षा शाखा अधिकृत रामप्रसाद अधिकारी, विद्यालयका सहयोगी, दानदाता, अभिभावक तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा शिक्षक बबिता ढकालले स्वागत मन्तव्य दिनुभएको थियो भने सहजीकरण शिक्षक हिमालदेव पंगेनीले गर्नुभएको थियो ।