मौलाकाली सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्ययोजना सम्बन्धी अभिमुखीकरण

२०८२ भदौ २१ शनिबार १९:१३:०० मा प्रकाशित

गैंडाकोट । मौलाकाली सामुदायिक वन उपभोक्ता समूहले सम्बर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्ययोजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ। शनिबार समूहको सभा हलमा भएको कार्यक्रममा समूहको १० वर्षीय कार्ययोजनाको बारेमा छलफल भएको हो ।

 

कार्यक्रममा डिभिजन वन कार्यालय नवलपुरका डिभिजन वन अधिकृत वसन्त केशव अधिकारीले दिगोपन व्यवस्थापन अन्तर्गत रहेर सामुदायिक वनहरूले वन व्यवस्थापन गरिरहेको बताउनुभयो। उहाँले दिगो वन व्यवस्थापन अन्तर्गत जीपीएसमार्फत १० वटा प्लट निर्माण हुने र १० वटा प्लटको छुट्टाछुट्टै व्यवस्थापनका लागि वनको सम्पूर्ण व्यवस्थापन हुने बताउनुभयो। यसले सामुदायिक वन संरक्षण सम्बर्धनमा सहयोग पुग्ने बताउनुभएको छ। डिभिजन वन कार्यालय नवलपुरले विभिन्न वनहरूलाई प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको पनि उहाँले बताउनुभयो।


यस्तै, मौलाकाली सामुदायिक वनका अध्यक्ष हरिप्रसाद सापकोटाले वन संरक्षणमा समूहले विभिन्न काम गर्दै अगाडि बढेको जानकारी गराउनुभयो। उहाँले दिगो वन व्यवस्थापन कार्ययोजना बनाएर वन अगाडि बढ्ने र यसको लागि अभिमुखीकरण कार्यक्रम गरिएको पनि बताउनुभयो। अभिमुखीकरणमा आएका सुझाव र सल्लाहलाई मनन गर्दै अगाडि बढ्ने समेत उहाँले बताउनुभयो।


यस्तै, मौलाकाली सामुदायिक वनका वन व्यवस्थापन कार्ययोजना तयारी उपसमिति संयोजक डिल्ली प्रसाद पाठकले गण्डकी प्रदेशको वन समूह प्रणालीमा आधारित दिगो वन व्यवस्थापन निर्देशिका २०८२ को आधारमा समूहले आगामी १० वर्षीय कार्ययोजना बनाउने जानकारी दिनुभयो। कार्ययोजनाले वनको चट्टा कटान, वनको मुहान संरक्षण, वनको रेखदेख लगायतका सम्पूर्ण प्रक्रियाहरूलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरेको बताउनुभयो।

वन क्षेत्रमा पाँचवटा प्लट निर्माण गरेर पहिले काम अगाडि बढाइएको समेत उहाँले बताउनुभयो। प्रत्येक पाँचवटा प्लटलाई फेरि पनि १० भागमा विभाजन गरिने र वनको क्षेत्रफल र त्यहाँको पर्यावरण अनुसार काम गरिने बताउनुभयो। दिगो वन व्यवस्थापन अन्तर्गत अहिलेको नक्साअनुसार जीपीएसमार्फत १० वटा प्लट हुने जानकारी गराउनुभयो।


कार्यक्रममा प्राविधिक डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत अर्जुनप्रसाद सापकोटाले वन व्यवस्थापन दिगो वन व्यवस्थापन एउटा लामो प्रक्रिया र प्रणाली भएको बताउनुभयो। दिगोपन व्यवस्थापनले सधैंभरि निरन्तर रुपमा वन पैदावारको आपूर्ति भइरहने, वार्षिक रुपमा निकाल्ने वन पैदावारको परिणाम नघटाइकन लिइरहेको हुनाले दिगो वन भनिने समेत उहाँले बताउनुभयो। दिगोपनले आर्थिक, प्राविधिक र वातावरणीय पक्ष तीनवटै पक्षलाई समेटेर कार्ययोजना बनाउन सकिने र व्यवस्थापन गर्न सके मात्र दिगो वन व्यवस्थापन हुने उहाँले बताउनुभयो।


कार्यक्रममा गैंडाकोट वडा नम्बर १ का वडाध्यक्ष सुरेन्द्र प्रसाद रेग्मीले वनले वन संरक्षणसँगसँगै उपभोक्ताको हितमा काम गरिरहेको बताउनुभयो। उहाँले दिगो वन व्यवस्थापनमा वनको सक्रियताले वन संरक्षणमा अझ महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।


मौलाकाली सामुदायिक वनका उपाध्यक्ष भगवान घिमिरेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमकोे सचिव इन्दिरा शर्माले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा समिति, विभिन्न उपसमितिका संयोजक, सदस्य लगायत उपभोक्ता सदस्यहरूको उपस्थिति रहेको थियो।