नेपाली कांग्रेस गैंडाकोट–१३ मा वृहत वडा भेला सम्पन्न

२०८२ भदौ २२ आइतबार १५:३५:०० मा प्रकाशित


गैंडाकोट । नेपाली कांग्रेस नगरकार्य समितिको निर्णयअनुसार गैंडाकोट नगरपालिका–१३ मा शनिबार वृहत वडा भेला सम्पन्न भएको छ।


वडा सभापति प्रेमलाल पौडेलको अध्यक्षतामा सम्पन्न भेलामा क्षेत्रीय प्रतिनिधि, वडा कार्यसमिति सदस्य, टोल सभापति, भातृसंघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रतिनिधि एवं नगर सचिव गोविन्द घिमिरेले पार्टी संगठनलाई मजबुत बनाउन नियमित टोल तथा वडा बैठक बस्ने, वार्षिक कार्ययोजना बनाएर काम गर्ने, वसाइसराई हुने नयाँ घरपरिवारलाई स्वागत गर्ने, भातृसंघलाई सक्रिय पार्ने, सामाजिक सञ्जाललाई प्रभावकारी रुपमा प्रयोग गर्ने लगायतका सुझाव प्रस्तुत गर्नुभयो। साथै उहाँले गलत हल्लाको पछि नलागी कांग्रेसजन एकजुट भएर अगाडि बढ्न आह्वान गर्नुभयो।


भेलाले वडा सम्मेलन तयारी समिति, युवा परिचालन समिति, भातृसंघ गठन तथा परिचालन समिति, घरदैलो अभियान समिति तथा सामाजिक सञ्जाल परिचालन समिति गठन गर्ने प्रस्ताव प्रस्तुत गरेको छ।


कार्यक्रममा भूमि व्यवस्था विभागका केन्द्रीय सदस्य प्रेमबहादुर विश्वकर्मा, क्षेत्रीय सदस्य वासुदेव अर्याल, प्रदेश क्षेत्रका सहसचिव करूणाकर पौडेल, प्रदेश क्षेत्र सदस्य जानुका लक्ष्मी आचार्य, पूर्व वडा सभापति विश्वनाथ शर्मा, नगर सहसचिव बुद्धिप्रसाद न्युरे, नेता कालिका प्रसाद देवकोटा, नेता विष्णु गौतमलगायतले महत्वपूर्ण सुझाव राख्नुभएको थियो।


वडा सचिव नेत्र महतोको सहजीकरणमा सम्पन्न भेलाले नेपाली कांग्रेस गैंडाकोट–१३ एकजुट भएर अगाडि बढ्ने संकल्प गरेको छ।