अधिवक्ता रमेश काफ्लेद्वारा लिखित सम्वृृद्धिका पाइलाहरु पुस्तकको लोकार्पण

२०८२ भदौ २१ शनिबार १९:२६:०० मा प्रकाशित

नवलपुर । अधिवक्ता रमेश काफ्लेद्वारा लिखित सम्वृृद्धिका पाइलाहरु नामक लेख संग्रहको शनिबार गैँडाकोटमा लोकार्पण गरिएको छ । गैँडाकोटको द होटल नारायणीमा आयोजित कार्यक्रममा साहित्यकार, प्राध्यापक, अधिवक्ता, समाजशास्त्री र समाजसेवीहरुको उपस्थितिमा पुस्तक लोकार्पण गरिएको हो ।

 

त्रिवेणी साहित्य प्रतिष्ठान र रोटरी क्लब अफ गैँडाकोटको संयुक्त आयोजनामा सो कार्यक्रम भएको थियो । 
कार्यक्रमका प्रमुख अतिथि त्रिवेणी साहित्य प्रतिष्ठानका प्रमुख संरक्षक तथा गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीले पुस्तक सार्वजनिक गर्दै नेपाली समाज कसरी समृद्ध बन्न सक्छ, नागरिकका हक अधिकार सुनिश्चित गर्ने उपाय, आपसी सद्भाव र सहिष्णुताको भाव विकास जस्ता विषयमा पुस्तकले महत्वपूर्ण दृष्टिकोण प्रस्तुत गरेको बताउनुभयो । उहाँले पुस्तक राजनीतिज्ञ, अनुसन्धानमा रुचि राख्ने विद्यार्थी, समाजशास्त्री तथा कानुनी क्षेत्रका लागि उपयोगी हुने उल्लेख गर्नुभयो ।


कालिका संस्कृत विद्यापीठका प्रमुख डा. केशव चालिसेले पुस्तकले समाजशास्त्रका मान्यता, कानुनी राज्यको विकासक्रम र नेपालका कानुनी प्रावधानका अवस्थामाथि गहन चिन्तन गरेको धारणा राख्नुभयो ।


पुस्तकका समिक्षक वरिष्ठ अधिवक्ता भुपेन्द्रजंग पौडेल क्षेत्री, वरिष्ठ अधिवक्ता जगन्नाथ भण्डारी र अधिवक्ता सरिता तिवारीले पुस्तक समाजशास्त्र र कानुन अध्ययनका लागि मार्गदर्शक हुने धारणा राख्नुभयो । पुस्तकमा भूमि सुधार, बदलिँदो समाजमा सम्बन्ध विच्छेदका घटना, सम्पत्ति शुद्धिकरण, नागरिक कानुनी शिक्षा, आत्महत्याको बढ्दो दर, पर्यटन र आर्थिक विकासमा युवा नेतृत्व, दिगो विकास, सामाजिकीकरण, मुलुकी ऐन १९१० लगायतका विषयमा लेख समावेश छन् ।


३२ वटा लेख संकलन गरिएको यस संग्रहमा समाजशास्त्रका अवधारणा, नेपालको कानुनी अभ्यास र पुस्तक समिक्षा समेटिएका छन् । साथै हिन्दू धर्म दर्शन र आधुनिक समाजमा यसको सान्दर्भिकताको विषयमा पनि लेख पाइन्छ ।


कार्यक्रममा विरेन्द्र बहुमुखी क्याम्पस प्रमुख प्रेमसागर भण्डारी, नेपाल बार एसोसियसनका केन्द्रीय सदस्य वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, रोटरी क्लब अफ गैँडाकोटका पूर्व अध्यक्ष गोपेन्द्रकेशरी न्यौपानेलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


कार्यक्रमको अध्यक्षता त्रिवेणी साहित्य प्रतिष्ठानका उपाध्यक्ष तथा गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति भिमप्रसाद शर्माले गरेका त्रिवेणी साहित्य प्रतिष्ठानले साहित्यलाई संरक्षण सम्र्वद्धन गर्दै आएको र बिभिन्न साहित्यीक पुस्तक प्रकाशन गरेको बताउनुभयो । उहाँले सम्वृृद्धिका पाइलाहरु पुस्तक २ सय ६ औँ पुस्तक भएको बताउनुभयो । 


पुस्तकको प्रकाशन त्रिवेणी साहित्य प्रतिष्ठान गैँडाकोटले गरेको हो । संरक्षकमा कृष्णप्रसाद काफ्ले र हरिकला काफ्ले, भाषा सम्पादनमा इन्द्रराज पौडेल र विष्णुमाया पन्थी, प्रकाशन सहयोगी विना गौतम तथा आवरण र कम्प्युटर नविन श्रेष्ठ रहेका छन् ।


लोकापर्ण समारोह कार्यक्रम सञ्चालन भूमीश्वर शर्मा भावुकले गर्नुभएको थियो भने स्वागत मन्तव्य रोटरी क्लब अफ गैँडाकोटका अध्यक्ष हिरालाल अर्यालले व्यक्त गर्नुभएको थियो ।