नवलपुर फोटोग्राफर संघद्वारा तालीम आयोजना हुने

२०८२ भदौ २३ सोमबार १९:५७:०० मा प्रकाशित

कावासोती । नवलपुर फोटोग्राफर संघले जिल्लाभित्र रहेका फोटोग्राफरहरूको सीप अभिवृद्धि, आत्मनिर्भरता र रोजगारी सिर्जना गर्ने उद्देश्यले विशेष तालीम आयोजना गर्ने भएको छ। संघले फोटोग्राफी पेशालाई अझ व्यावसायिक बनाउन सहयोग पुगोस् भन्ने हेतुले आगामी भदौ २५ र २६ गते कावासोतीमा “ मास्टरिङ थ्री लाइट सेटअप एण्ड फोटोशप एआइ फर फोटोग्राफर्स  शीर्षकमा तालीम सञ्चालन गर्न लागेको नवलपुर फोटोग्राफर संघका अध्यक्ष कुशल अधिकारीले बताउनुभयो। 


तालीमलाई फोटोग्राफर दिगम्बर राजवंशिले सञ्चालन गर्नेछन्। दुई दिने यो तालिममा नयाँ प्रविधि, तीन प्रकाशको प्रयोग र फोटोशप एआई  को प्रभावकारी प्रयोगका बारेमा व्यावहारिक ज्ञान दिइने संघले जनाएको छ।
तालीम शुल्क सदस्यहरूका लागि ३ हजार  रुपैयाँ र गैरसदस्यका लागि ५ हजार ५ सय रुपैयाँ तोकिएको छ। संघले यस तालिमले जिल्लाभित्रका फोटोग्राफरहरूलाई नयाँ ज्ञान, सीप र दक्षता हासिल गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेको छ।