२० वर्षभन्दा कम उमेरमा गर्भवती हुने र गर्भपतन सेवा लिनेको सङ्ख्या बढी
म्याग्दी । प्रादेशिक अस्पताल बेनीमा सुत्केरी सेवा लिनेभन्दा गर्भपतन सेवा लिनेको सङ्ख्या बढी देखिएको छ । यसमा पनि २० वर्षभन्दा कम उमेरमा गर्भवती हुने र गर्भपतन सेवा लिनेको सङ्ख्यामा बढोत्तरी भएको छ । सरकारले सन् २००२ देखि गर्भपतनलाई कानुनी मान्यता दिएको थियो भने सन् २०१६ देखि सरकारी स्वास्थ्य संस्थाहरुमा गर्भपतन सेवालाई निःशुल्क गरेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले भने, “ बेनी प्रादेशिक अस्पतालमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक सय ७७ सुत्केरी भए । सोही अवधिमा एक सय ९१ जनाले सुरक्षित गर्भपतन सेवा लिए ।” उनका अनुसार सुरक्षित गर्भपतन सेवा लिनेमध्ये आठ र सुत्केरी हुनेमध्ये ३१ जना २० वर्षभित्रका थिए ।
कार्यालयका अनुसार अस्पतालमा चालुआवको २०८२-०८३ को गत साउनदेखि कात्तिकसम्म सुत्केरी भएका र सुरक्षित गर्भपतन सेवा लिएका तीन सय ७६ मध्ये ३९ जना २० वर्ष मुनिका थिए ।
यसैगरी, आव वर्ष २०८१-०८२ मा सुत्केरी भएका र सुरक्षित गर्भपतन सेवा लिएका एक हजार तीन सय ८४ मध्ये एक सय ९० जना २० वर्ष मुनिका थिए । गत आवमा २० वर्ष मुनिका एक सय ६१ जना सुत्केरी हुँदा सुरक्षित गर्भपतन सेवा लिने सो उमेर समूहका किशोरी तथा युवतीको सङ्ख्या २९ रहेको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०८०-८१ मा सुत्केरी हुने र सुरक्षित गर्भपतन सेवा लिने एक हजार चार सय ६५ जनामध्ये २० वर्ष मुनिको सङख्या एक सय ६५ जना थियो । यसैगरी २० वर्ष मुनि गर्भपतन सेवा लिनेको सङ्ख्या ३३ जना थियो भने सो उमेरमाथिका आठ सय ६८ जना थिए ।
पछिल्लो जनगणना अनुसार जिल्लामा प्रजननयोग्य उमेर समूहका महिलाको सङ्ख्या २१ हजार एक सय ८३ जना छ । जिल्लाका ४७ प्रतिशत दम्पत्तीले मात्र परिवार योजनका आधुनिक साधनको प्रयोग गर्ने सूचना अधिकारी सुवेदीले बताए । अझै ५३ प्रतिशत दम्पत्ती परिवार नियोजनका आधुनिक साधनको पहुँच बाहिरै छन् ।
प्रजनन स्वास्थ्यका दृष्टिकोणले २० वर्षभन्दा कम उमेरमा गर्भवती हुने र गर्भपतन सेवा लिने राम्रो मानिन्न । कानुनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न बन्देज लगाएको छ । परिवार योजनाका साधनको प्रयोग कमी, सुत्केरी हुने भन्दा गर्भपतन सेवा लिनेको सङ्ख्या बढी, २० वर्ष भन्दा कम उमेरमा गर्भवती र गर्भपतन गराउनेको सङ्ख्या बढ्नु प्रजनन स्वास्थ्यमा चुनौती थपिएको सूचाङ्क मानिन्छ ।
अस्पतालका प्रमुख डा.रविरञ्जन प्रधानले भने, “सुरक्षित गर्भपतन सेवाको पहुँचसँगै सेवा लिनेको सङ्ख्या बढ्नु सकारात्मक हो । तर पटक पटक गर्भपतन गराउनु हुँदैन । २० वर्ष मुनि शारीरिक र मानसिक रुपमा सक्षम भइनसकेका किशोरी गर्भवती हुँदा प्रजनन स्वास्थ्यमा जोखिम आउँछ । बालबिवाहका कारण शारीरिक र मानसिक रुपमा परिपक्क नभएका युवती तथा किशोरी आमा बन्न र अनिच्छुक गर्भधारण गर्न बाध्य भएका हुन् । यस्तो अवस्था अन्त्य गर्न जरुरी हुन्छ । यसका लागि यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी र सचेतना आवश्यकपर्छ । ”
उनी आधुनिक परिवार योजनाका साधनको प्रयोगदर कम हुनु, सुत्केरी हुने भन्दा गर्भपतन सेवा लिनेको सङ्ख्या बढी हुनु, २० वर्ष भन्दा कम उमेरमा गर्भवती हुनु र गर्भपतन गराउनेको सङ्ख्या बढ्नु प्रजनन स्वास्थ्यमा चुनौती थपिएको बताउँछन् ।
म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक रेखाकौशल रेग्मीकाअनुसार समाजमा विवाहको शैली फेरिए पनि बालविवाह कम भएको छैन । नेपालमा अझै पनि आधा भन्दाबढी अर्थात् ५३ प्रतिशत अनिच्छित गर्भधारण हुने तथ्याङ्क छ । अर्कोतर्फ पछिल्ला वर्षमा बीस वर्ष भन्दा कम उमेरमा विवाह दर्ता नहुने, विवाह दर्ता नभइकन जन्मदर्ता नहुने भएकाले बालबालिकालाई विद्यालय भर्ना गर्न, राज्यले दिने सेवा सुविधा उपभोग गर्न र अन्य सरकारी कागजात बनाउन समस्या हुन थालेको छ । रासस