चितवनमा थपिए २२ हजार मतदाता

२०८२ मङ्सिर ८ सोमबार १९:०२:०० मा प्रकाशित

चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवनमा २२ हजार ३ सय ३८ मतदाता थपिएका छन् । बायोम्याट्रीकबाट ११ हजार ९० र राष्ट्रिय परिचयपत्रमार्फत ११ हजार २ सय ४८ मतदाता थपिएका हुन् ।

 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमशेन कार्कीका अनुसार वायोम्याट्रीकबाट थपिएका मतदातामध्ये छ हजार ३ सय ११ पुरुष, चार हजार ७ सय ७६ जना महिला र तीन तेस्रो लिंगी रहेका छन् । उहाँका अनुसार अन्य जिल्लाका दुई हजार १ सय २३ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

 

गत असोज १० गतेदेखि यही मङ्सिर ५ गतेसम्म ती मतदाताले आफ्नो नाम दर्ता गराएका हुन् । यस्तै, त्रुटि सच्याउने ३ सय ४४ जना र ठाउँसारीका एक हजार ७ सय २८ जनाले निवेदन दिएका छन् । निर्वाचन आयोगले अन्तिम नामावली सार्वजनिक गर्दासम्म यो संख्यामा केही थप हुनसक्ने प्रमुख कार्कीको भनाई छ । बाहिरी जिल्लामा रहेका चितवन बासीले पनि नाम दर्ता गराएको हुनसक्ने भएकाले यो संख्यामा थपघट हुने उहाँले बताउनुभयो ।