गैँडाकोट शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यद्वारा कार्य प्रारम्भ 

२०८२ मङ्सिर ८ सोमबार १९:०६:०० मा प्रकाशित

गैंडाकोट । लामो समयदेखि शिक्षा शाखा प्रमुख विहिन गैँडाकोट नगरपालिकाले शिक्षा शाखा प्रमुख प्राप्त गरेको छ । शिक्षा युवा तथा खेलकुद शाखा गैँडाकोट शाखामा जैमिनी नगरपालिका बागलुङबाट सरुवा भई आउनुभएका शिक्षा शाखा प्रमुख उपसचिव खेमप्रसाद आचार्यले सोमबारबाट गैँडाकोट नगरपालिकामा हाजिर हुनुभएको छ । आचार्यले सोमबारबाटै गैँडाकोट नगरपालिकामा कार्य प्रारम्भ गर्नुभएको छ ।

 

आचार्यलाई नगरप्रमुख मदनभक्त अधिकारी, नगर उपप्रमुख शान्ति कोइराला र प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे, शिक्षा अधिकृत रामप्रसाद अधिकारी लगायतले स्वागत गर्नुभएको थियो ।

 

वि।सं २०५४ सालमा प्राविधिक सहायक पद जुम्लाबाट निजामती सेवामा प्रवेश गर्नुभएका उपसचिव खेमप्रसाद आचार्य एक सक्रिय, स्पष्टवक्ता, कुशल राष्ट्रसेवकको रुपमा चिनिनुहुन्छ । उहाँले केही समय क्षेत्रीय शिक्षा निर्देशनालय पोखरामा सेवा गर्नुभयो । वि.सं २०५६ सालमा हुम्ला जिल्लामा विद्यालय निरीक्षकको रुपमा, शाखा अधिकृत विद्यालय निरीक्षकको रुपमा बागलुङ र पर्वतमा सेवा गर्नुभएको थियो । वि.सं २०७४ सालमा उप सचिवमा बढुवा भई जिल्ला शिक्षा कार्यालय पर्वतमा कार्य गरेको अनुभव रहेको छ ।

 

वि.सं २०७४ भाद्रबाट जैमिनी नगरपालिका बागलुङमा शिक्षा शाखा प्रमुख भई हाल सम्म कार्य गर्दै आउनुभएको थियो । उहाँसँग कर्मचारी समायोजन अगाडी तीन महिना गल्कोट नगरपालिका बागलुङमा कार्य गर्नुभएको कार्य अनुभव छ । वि.सं २०८२ मंसीर ४ गते सम्म जैमिनी नगरपालिकामा सेवा गरी तत् पश्चात गैँडाकोट सरुवा भई आउनुभएको हो ।