गैंडाकोटमा नेतृत्व, सीप तथा नैतिक शिक्षा कार्यशाला सम्पन्न

२०८२ मङ्सिर ८ सोमबार १८:५८:०० मा प्रकाशित

गैंडाकोट । लायन्स क्लव अफ गैंडाकोट मौलाकालिकाको आयोजनामा सोमबार नेतृत्व, सीप तथा नैतिक शिक्षा कार्यशाला सम्पन्न भएको छ । विजय विकास स्रोत केन्द्रको सभाहलमा भएको कार्यक्रममा गैंडाकोटका १० वटा विद्यालयबाट शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा लायन्स क्लब अफ गैंडाकोट मौलाकालीकाका अध्यक्ष जनक पौडेलले विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास, आत्मविश्वास वृद्धि, सञ्चार सीप, समय व्यवस्थापन, टीमवर्क र समस्या समाधानजस्ता जस्ता सीप आजको समयका युवापुस्ताका लागि अपरिहार्य भएको बताउनुभयो । उहाँले “नेतृत्व सीपबिना आजको प्रतिस्पर्धात्मक संसारमा अगाडि बढ्न नसकिने बताउँदै विद्यार्थीलाई निरन्तर आत्मविकासमा जोड दिन आग्रह गर्नुभयो ।


सहजकर्ता लायन जगदिशचन्द्र शर्माले विद्यार्थीहरूलाई नेतृत्व विकास, आत्मविकास र समयको सदुपयोगका विषयमा प्रशिक्षण दिँदै अनुशासन, लगनशीलता र सकारात्मक सोच नै सफलताको मूल आधार भएको बताउनुभयो । 


कार्यक्रम संयोजक लायन विमलराज घिमिरेले विद्यार्थीको आवश्यकता र समयको मागअनुसार कार्यशाला सञ्चालन गरिएको बताउँदै यसलाई आगामी दिनमा अझ व्यवस्थित ढंगले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले “सिकाइको सार व्यवहारमै देखिनुपर्छ,” भन्दै सहभागीलाई सिकेका सीपलाई दैनिक जीवनमा प्रयोग गर्न आग्रह गर्नुभयो ।


डिष्ट्रिक ३२५ आरका डिष्ट्रिक गर्भनर लायन नवराज सापकोटाको आतिथ्यतामा सम्पन्न कार्यक्रमको शंकर आचार्यले सहजीकरण गर्नुभएको थियो ।


कार्यक्रममा सहभागी शिक्षक तथा विद्यार्थीहरूले कार्यशाला अत्यन्तै उपयोगी, प्रेरणादायी र प्रभावकारी भएको बताँउदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्  ।


कार्यक्रममा लायन कृष्ण पाण्डे, देशबन्धु सिग्देल, कृष्ण रिजाल, हरी ढकाल, भिम पौडेल, राजु पौडेल लगायतको उपस्थिति रहेको थियो ।