संगठन कमजोर हुनुको कारण सही समयमा सही नेतृत्वको अभाव:प्रकाश सापकोटा

२०८२ पौष ५ शनिबार १९:१५:०० मा प्रकाशित

गैंडाकोट । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. १ (क) को सभापति पदका लागि गैंडाकोट-२ का वडा अध्यक्ष प्रकाश सापकोटाले उम्मेदवारी घोषणा गर्नुभएको छ  ।


शनिवार बिहान गैंडाकोटमा आयोजित पत्रकार सम्मेलनमार्फत सापकोटाले आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गर्दै संगठनलाई जितमुखी बनाउने स्पष्ट दाबी प्रस्तुत गर्नुभयो । उहाँले आफू पदको आकांक्षाका कारण होइन, पार्टीको आवश्यकताका कारण मैदानमा उत्रिएको बताउनुभयो ।


पत्रकार सम्मेलनमा बोल्दै सापकोटाले नेपाली कांग्रेस केवल चुनाव जित्ने संस्था नभई बी.पी. कोइरालाको विचार, गणेशमान सिंहको निडरता, कृष्णप्रसाद भट्टराईको नैतिकता र जी.पी. कोइरालाको दृढ नेतृत्वको निरन्तरता भएको पार्टी भएको उल्लेख गर्नुभयो । 


प्रदेश सभा क्षेत्र नं. १ (क) को संगठनात्मक अवस्थाप्रति टिप्पणी गर्दै सापकोटाले कार्यकर्ता हुँदाहुँदै संगठन कमजोर हुनुको कारण सही समयमा सही नेतृत्वको अभाव रहेको बताउनुभयोे । आफू वडा अध्यक्षमा सीमित नेता नभई दलित, जनजाति, युवा, खेलकुदलगायत सबै क्षेत्रसँग निरन्तर सम्बन्ध र सहभागिता रहेको उहाँको भनाइ थियो ।


सापकोटाले पार्टीले जित्न नसकेको कठिन क्षेत्रमा जिम्मेवारी पाउँदा ऐतिहासिक मतका साथ विजयी भएको स्मरण गराउँदै सो अनुभव नै आफ्नो सबैभन्दा ठूलो योग्यता भएको बताउनुभयो ।  ३५ वर्षमुनिको युवा नेता भए पनि अनुभव, जोखिम लिन सक्ने क्षमता र परिवर्तन बुझ्ने चेतना आफूमा रहेको बताउँदै कांग्रेसलाई परम्परागत मतदाता मात्र होइन, अन्य पार्टीका स्विङ भोट समेत आकर्षित गर्न सक्ने नेतृत्व आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले प्रतिनिधिहरूलाई व्यक्ति नभई जित्ने क्षमता रोज्न आग्रह गर्दै आफ्नो उम्मेदवारी पार्टीको भविष्य र संगठनको एकताका लागि भएको स्पष्ट पार्नुभयो ।