अमर बचत तथा ऋण सहकारी संस्थाको २६ औं साधारण सभा सम्पन्न
गैंडाकोट । अमर बचत तथा ऋण सहकारी संस्थाको २६ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभामा संस्थाका संस्थापक अध्यक्ष हरिदत्त पाध्याले संस्थालाई धेरै दुःख गरेर स्थापना गरिएकोमा यसलाई फलाएर फुलाएर अगाडि बढाउन आग्रह गर्नुभयो । उहाँले वर्तमान अवस्थाका केही सहकारी बदनाम भइरहेको जनाउँदै संस्थाका गतिविधिमा सदस्य सजग बन्नुपर्ने बताउनुभयो ।
अमर बचत तथा ऋण सहकारी संस्थाका कार्यबाहक अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले संस्थाले बचत तथा ऋणका कार्यक्रमसँगैका वित्तीय कारोबार एवं दूध सहित दुधजन्य बस्तुहरुको बिक्री वितरण गर्दै आएको बताउनुभयो । उहाँले संस्थालाई यो स्थानसम्म पुर्याउन सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नुभयो ।
प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सचिव आनन्द कुमार शर्मा पंगालीले स्थानीय स्तरमा छरिएर रहेको स-सानो पूँजीलाई नियमित रुपमा बचत गरी उत्पादनमूलक कार्यमा ऋण लगानी गरी सदस्यको आर्थिक तथा सामाजिक स्तरमाथि उकासी आत्मनिर्भर बनाउने संस्थाको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष जितबहादुर गुरुङले संस्थामा ५ करोड १५ लाख ३३ हजार ५ सय शेयरपूँजी रहेको बताउनुभयो ।
ऋण लगानी तथा असुली उप समितिको प्रतिवेदन संयोजक उमानन्द कँडेलले प्रस्तुत गर्नुभएको थियो भने लेखा तथा सुपरिवेक्षणको समितिको प्रतिवेदन संयोजक हरिभक्त कडेलले प्रस्तुत गर्नुभएको हो।
गैडाकोट वडा नम्बर १७ का वडाअध्यक्ष गोपि कंडेलले सहकारीलाई समय सापेक्षरुपमा डिजिटल प्रविधिका साथ अगाडि बढाउँदै जानुपर्ने बताउनुभयो। उहाँले सहकारीको नियम तथा नीति भित्र रहेर आफ्ना सदस्यलाई सेवा दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा गैँडाकोट नगरपालिका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतमले कर्जा असुलीमा कडाईका साथ अगाडि बढ्न आग्रह गर्नुभयो। उहाँले अहिले प्रविधिको विषयमा प्रविधिसँगै अपडेट हुँदै जानु र समय सापेक्ष जानकार हुन पनि आग्रह गर्नुपर्यो । शाखा प्रमुख गौतमले वित्तीय क्षेत्र नै अहिले समस्यामा छ, ऋण प्रवाह भइरहेको कर्जा असुलीका लागि समय तालिका बनाएर काम गर्नुपर्ने बताउनुभयो । अब बचत तथा ऋण लगानी नीतिअनुसार कर्जा प्रवाह गर्नुपर्ने उहाँले बताउनुभयो। गौतमले आफ्नो कार्यकालको अन्तिमसम्म संस्थालाई स्वस्थ बनाएर अर्को समितिलाई सुम्पन आग्रह गर्नुभयो। उहाँले जबसम्म सदस्यले संस्थालाई विश्वास गर्नुहुन्छ तबसम्म संस्था अगाडि बढ्ने बताउनुभयो ।
जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष तिलक प्रसाद पराजुलीले अहिले दुई प्रकारका सहकारीमा समस्या आएको बताउनुभयो। उहाले भन्नुभयो ,“जसले नियतवश रुपमा सञ्चालन गरेको छ र अनविज्ञताका रुपमा चलाएका सहकारीहरु समस्यामा परेका बताउनुभयो । उहाँले अब सञ्चालक समिति चनाखो हुनुपर्ने समय आएको बताउनुभयो । अध्यक्ष पराजुलीले सहकारी संस्थालाई जोगाउन र बिस्तारै अगाडि बढाउन सबैभन्दा ठूलो भूमिका सदस्यको हुने बताउनुभयो ।
कार्यक्रममा गैडाकोट १४ का वडाअध्यक्ष कोकिसरा राना मगर, वडानम्बर १५ का वडाअध्यक्ष प्रेमराज तिमिल्सेना लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
अमर बचत तथा ऋण सहकारीमा अहिले ७ हजार ६ सय ७६ शेयर सदस्य रहेको निमित्त.व्यवस्थापक कबिता ढकाल थापाले जानकारी दिनुभयो । संस्थाको उत्कृष्ट कर्मचारिको रुपमा र्माकन्ड्य गौतम घोषित हुनु भएको छ ।
कार्यक्रममा संस्थाका ७० वर्ष नाघेका सदस्यहरूलाई सम्मान गरिएको थियो भने एसइईमा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्य विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको थियो । त्यस्तै दूधको गुणस्तरतर्फ र दूधको परिणामतर्फ उत्कृष्ट सदस्यलाई पुरस्कृत गरिएको थियो त्यस्तै बचत तथा ऋण लगानिमा पनि उत्कृष्टहरूलाई सम्मान गरिएको थियो।
संस्थाका शिक्षा उपसमिति संयोजक अम्बिका सापकोटाले स्वागत मन्तव्य राख्नुभएको सभामा संस्थाका सचिव आनन्द कुमार शर्मा पंगालीले सहजिकरण गर्नुभएको थियो ।
वि.स. २०५४ सालबाट मासिक रु १०० का दरले बचत संकलन गरी सुरु गरेको सहकारीले वित्तीय तथा गैर वित्तीय सेवासँगै अन्य सामाजिक उत्तरदायित्वमार्फत विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।