गण्डकी बचतको रक्तदानमा ११६ जनाले गरे रक्तदान
२८ जना नयाँ रक्तदाता
नवलपरासी पूर्व । गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदानमा ११६ जनाले रक्तदान गरेका छन् ।
गैंडाकोट–२ स्थित संस्थाको आफ्नै कार्यालय परिसरमा शहिद दिवसको पूर्वसन्ध्यामा बिहीबार भएको रक्तदान कार्यक्रममा २० जना महिला र ९६ जना पुरुष सहित कुल ११६ युनिट रगत संकलन भएको थियो । कार्यक्रममा २८ जना नयाँ रक्तदाताले रक्तदान गरेका थिए ।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले भन्नुभयो “रगत अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले गरिएको रक्तदान कार्यक्रम शहिदप्रति सच्चा श्रद्धाञ्जली भएको छ ”।
गण्डकी सहकारीका अध्यक्ष गोविन्द सुवेदीले संस्थाका सदस्यहरूको आर्थिक रुपान्तरणमा मात्र नभएर सामाजिक क्षेत्रमा पनि विभिन्न कार्य गर्दै आएको बताउनुभएको छ । “रक्तदान जस्तो पुण्यकार्यमा सदस्य, कर्मचारी र स्थानीयको उत्साहजनक सहभागिताले हामीलाई थप जिम्मेवार बनाएको अध्यक्ष सुवेदीले बताउनु भयो । उहाँले संस्थाले स्वास्थ्य शिविर, रक्तदान, विद्यार्थीहरुका लागि छात्रवृत्ती लगायतका सामाजिक काम गर्दै आएको, अगामि दिनमा पनि गर्ने बताउनुभयो ।
रक्तदान कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष पोषणराज सुबेदीले रक्तदान सबैभन्दा ठूलो मानवसेवा भएको र शहिदहरूले देखाएको त्याग र बलिदानको सम्मान पनि हुने बताउनु भयो ।
रक्तदान कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु वेदप्रसाद गौडेल, षडानन्द लामिछाने , जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष बाबुराम खनाल, गैँडाकोट २ का वडा अध्यक्ष प्रकाश सापकोटा, लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित मध्येबाट सबैभन्दा धेरै ११९ पटक रक्तदान गर्ने सन्तोष वाग्लेलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो ।
वार्षिक नियमित कार्यक्रम अन्तर्गत गरिएको रक्तदान कार्यक्रमले सदस्यहरुमा सामाजिक उत्तरदायित्वको भावना जागृत गराउने गण्डकी साकोसका कार्यकारी अधिकृत रामचन्द्र सुवेदीले जानकारी दिनुभयो ।
संस्थाका कोषाध्यक्ष तथा स्वास्थ्य उप समिति संयोजक सकुन्तला तिवारीले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सञ्चालक समिति सदस्य एवं महिला उप समिति संयोजक शुभेच्छा दलि प्रधानले गर्नुभएको थियो ।
शहिद दिवसको स्मरणमा आयोजना गरिएको रक्तदान कार्यक्रमले सामाजिक सेवामा सहकारीको भूमिकालाई थप सुदृढ बनाएको रक्तदानमा सहभागीहरूले बताएका थिए ।
१७ हजार ७४ सदस्य रहेको गण्डकी सहकारी यस क्षेत्रकै उत्कृष्ट सहकारीको रुपमा पहिचान बनाउन सफल भएको छ । संस्थाको २ अर्ब १३ करोड ५० लाख कुल सम्पत्ती रहेको छ भने शेयर पुँजी १९ करोड ५८ लाख ५९ हजार रहेको छ । ७ वटा सेवा केन्द्र सहित सञ्चालनमा रहेको यस गण्डकी सहकारीले आफ्नो जगेडा कोषमा २१ करोड पु¥याएको छ ।