राप्रपा नवलपुरका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारले गरे तलव भत्ता नलिने र भ्रष्टाचार नगर्ने प्रतिवद्धता

२०८२ फाल्गुण २ शनिबार १५:४८:०० मा प्रकाशित

नवलपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नवलपुरका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारले चुनाव जिते तलव भत्ता नलिने र भ्रष्टाचार नगर्ने प्रतिवद्धता सार्वजनिक गरेका छन् । पार्टी कार्यालय कावासोतीमा शनिवार पत्रकार भेटघाट तथा उम्मेदवार साक्षातकार कार्यक्रममा बोल्दै नवलपुर निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार दिपकचन्द्र वस्ताकोटी र क्षेत्र नम्बर २ का उम्मेदवार रुन कुमारी महतो (रुना)ले यस्तो बताएका हुन् । 


क्षेत्र नम्बर १ का वस्ताकोटीले भन्नुभयो “मैले चुनाव जितेमा तलव लिन्न र त्यो तलवबाट आएको रकम अक्षयकोष स्थापना गर्नेछु । रकमको ब्याजबाट खेलाडीहरुको हक हितमा लगाउने प्रतिवद्धता गर्दछु । वस्ताकोटीले गैँडाकोटमा रहेको जिर्ण अवस्थाको भृकुटी कागज कारखानालाई राष्ट्रियकरण गरेर संग्राहलयको रुपमा विकास गर्दै पर्यटकीय क्षेत्र गराउने लक्ष्य राखेको बताउनुभयो । 


त्यस्तै क्षेत्र नं. २ की उम्मेदवार महतोले आफू निर्वाचित भएमा पारिश्रमिक लिए पनि त्यसलाई छुट्टै कोष बनाएर सञ्चालन गर्ने बताउनुभयो । महतोले आफ्नो पार्टीले अघि सारेका एजेन्डा अरुभन्दा फरक रहेकाले जनताले बिचार गर्न आग्रह गर्नुभयो ।


महतोले यो क्षेत्रको भौगोलिक, आर्थिक, सामाजिक, कृषि, पर्यटन, नदी कटान जस्ता समस्याहरुलाई सम्बोधन गर्ने र विकास निर्माण कामलाई अगाडि बढाउने प्राथमिकता रहेको बताउनुभयो ।


कार्यक्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय सदस्य बिन्दु पौडेलले गणतन्त्रवादी र राष्ट्रवादीको कित्ता छुट्टिएको छ र राप्रपाले बोकेको मुद्दा कसैसँग पनि छैन त्यसैले जनताको साथ पाउने बताउनुभयो । उहाँले हामी नेता होईन निति ,व्याक्ति होईन बिचारको पक्षमा भएको बताउनुभयो ।


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नवलपुर जिल्ला निर्वाचन प्रचार प्रसार उपसमितिको आयोजनामा भएको कार्यक्रम पार्टीका प्रवक्ता रामनाथ उप्रेतीको अध्यक्षतामा भएको थियो ।


 

ताजा खबर