गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट: शनिबारको खेलमा लुम्बिनी र मधेश प्रदेश विजयी
नवलपुर । नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार दुई खेल भएका छन् । गैँडाकोट-९ स्थित नवजागरण खेलकुद मैदानमा भएको प्रतियोगितामा शनिबार लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी भएका हुन् ।
शनिबारको पहिलो खेलमा बागमती प्रदेश विरुद्ध लुम्बिनी प्रदेशले सात विकेटको जित निकालेको हो । बागमती प्रदेशले दिएको १०४ रनको चुनौती लुम्बिनीले १२ दशमलव चार ओभर खेल्दै तीन विकेटको क्षतिमा पूरा गर्न सफल भयो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १०३ रनमात्रै बनाउन सफल भएको थियो ।

लुम्बिनीको जितका लागि आकाश त्रिपाठीले अविजित अर्धशतकको पारी खेले । उनले ३४ बलमा तीन छक्का र सात चौकाको मद्दतले ५९ रनको योगफल तयार पार्न सफल भए । सुमीत श्रेष्ठले १६ बलमा एक छक्का र दुई चौकासहित १९, कप्तान देव खनालले १३ बलमा दुई छक्का सहित १८, पवन थापाले १३ बलमा एक चौकासहित ६ रनको योगदान दिए ।
यस खेलमा बागमती प्रदेशका कप्तान इशान पाण्डेले तीन विकेट लिए पनि टिमलाई हारबाट जोगाउन सकेनन् ।
सुरुआती ब्याटिङमा उत्रिएको बागमती प्रदेशका ब्याटर उत्तम थापा मगरले ४२ बल खेल्दै चार चौकाको मद्दतले ३८ रनको योगदान दिए । प्रतियोगितामा बागमतीका सुमन सुनारले १८, सोनु देवकोटाले १४, रोशन विकले १०, शुभ कंशकारले १० रनको योगदान दिए ।
बागतीलाई सस्तोमा समेट्ने क्रममा लुम्बिनीका सलाहुद्दिन खानले चार तथा वीर बहानुर घर्ती मगरले दुई विकेट लिन सफल भए ।
त्यस्तै, प्रतियोगिताको दोस्रो खेलमा गण्डकी प्रदेश विरुद्ध मधेश प्रदेशले ५७ रनको जित निकाल्यो । टस हारेर ब्याटिङको निम्ता पाएको मधेश प्रदेशले निर्धारित २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १६९ रन बनाएको थियो । १७० रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको गण्डकी प्रदेश १६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ११२ रनमा समेटिन पुग्यो ।

मधेश प्रदेशको जितका लागि मुहम्मद आदि आलमले ३१ बलमा ६ छक्का र दुई चौकासहित ४९ रनको योगदान दिए । मधेशका लागि पवन श्राफले ३१, विशाल पटेलले १८, अविशेक तिवारीले १४, अरनिको प्रसाद यादवले १३, मायन यादवले १२ रन बनाउन सफल भए । मधेशका कप्तान अनिल कुमार साह चार बल खेल्दै खाता नै नखोली पेबिलोन फर्किएका थिए ।
मधेशका विरुद्ध बलिङमा उत्रिएको गण्डकीका सुवाष भण्डारीले चार, सुदीप अर्याल र कृष्ण पौडेलले दुई÷दुई विकेट लिए ।
गण्डकीका लागि अरुण कुमालले २४ बलमा एक छक्का र चार चौकासहित ३१, कप्तान विपीन खत्रीले १५ बलमा तीन छक्का सहित २६, सन्दीप खत्री क्षेत्रीले १७ बलमा एक छक्का र एक चौकासहित १७ रन तथा कमल परियारले १० बलमा १० रन बनाउँदै पेबिलोन फर्किए । गण्डकी प्रदेशका अन्य ब्याटरले मधेश विरुद्ध दोहोरो अङ्कको रन जोड्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ ।
गण्डकी विरुद्ध आक्रामक बलिङमा उत्रिएको मधेश प्रदेशका रञ्जित कुमारले पाँच, मुहम्मद अली अलामले तीन तथा विशाल पटेलले दुई विकेट लिन सफल भए ।
जिल्लाकै ठूलो धन राशिको राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सात प्रदेशबाट सात वटा तथा आयोजक एक गरी आठ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता आयोजक संस्था नवजागरण ग्रामीण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाका अनुसार प्रतियोगिताको म्यान अफ दी सिरिजले २५ हजार रुपैयाँ तथा उत्कृष्ट ब्याटर, बलर, फिल्डर एवम् किपरले १५ हजार रुपैयाँका दरले पुरस्कार पाउने छन् ।
त्यस्तै, बेस्ट क्याच अफ दी टुर्नामेन्टले १० हजार एवम् प्रत्येक खेलको म्यान अफ दी म्याचले पाँच हजार रुपैयाँ र नव प्रतिभा खेलाडीलाई विशेष प्रोत्साहन पुरस्कार प्रदान गरिने सापकोटाको भनाइ छ ।
प्रतियोगिता अवलोकन गर्न जाने दर्शकहरुमध्येबाट हरेक दिन चार जनालाई पाँच हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिँदैछ । पुरस्कार एवम् प्रतियोगिताको प्रायोजन नारायणघाटको बालकुमारी कलेज अगाडि रहेको शुभराशि ल्याङ्गवेज सेन्टर प्रालिले गरेको छ । त्यस्तै प्रतियोगितामा नियमित जाने र फोटो तथा भिडियोमार्फत सामाजिक सञ्जालमा प्रचारप्रसार गर्ने दर्शकमध्येबाट एक जनालाई गैँडाकोट-८ मा रहेको सापकोटा साइकल स्टोर्सले माउन्टेन बाइक साइकल पुरस्कार दिने जनाइएको छ । क्रिकेट अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।