मर्यादित रूपमा होली मनाउन नवलपुर प्रशासनको आग्रह, उम्मेदवारको चिन्ह र फोटो अंकित टिसर्ट लगाए कारर्वाही हुने

२०८२ फाल्गुण १५ शुक्रबार १६:५१:०० मा प्रकाशित

नवलपुर । होली पर्वलाई मर्यादित, सभ्य र सुरक्षित रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय नवलपुरले जिल्लावासीलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार फागु पूर्णिमा (होली) को अवसरमा सामाजिक सद्भाव, आपसी सहिष्णुता र सांस्कृतिक मूल्य-मान्यतालाई आत्मसात गर्दै पर्व मनाउन अनुरोध गरिएको छ ।

 

सूचनामा जबरजस्ती रंग दल्ने, केमिकलयुक्त वा फोहोर पदार्थ प्रयोग गर्ने, पानी वा लोला हान्ने, सार्वजनिक स्थानमा हो-हल्ला गर्ने, मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति भंग गर्ने तथा सवारी आवागमन अवरुद्ध गर्ने कार्य नगर्न स्पष्ट निर्देशन दिइएको छ । त्यस्तै, कसैको इच्छा विपरीत अभद्र व्यवहार गर्ने, सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, ठूलो आवाजमा डिजे बजाउने, हातहतियार वा नक्कली हतियार प्रयोग गर्ने जस्ता गतिविधि पूर्ण रूपमा निषेध गरिएको प्रशासनले जनाएको छ ।

 

आगामी प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आचारसंहिता लागू रहेकाले होलीका नाममा राजनीतिक दल वा उम्मेदवारको पक्ष-विपक्षमा प्रचार-प्रसार गर्ने, चुनाव चिह्न अंकित कपडा, टोपी, झण्डा, स्टिकर, ब्यानर प्रयोग गर्ने कार्य पनि निषेध गरिएको छ । प्रशासनले सूचनामा उल्लिखित गतिविधि गरे÷गराएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ।