उद्यमशीलता र पारदर्शितामा जोड दिँदै मध्यविन्दुमा ६९ औँ राष्ट्रिय सहकारी दिवस सम्पन्न
नवलपुर । “उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता“ भन्ने मूल नाराका साथ ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा विहीबार मध्यविन्दु नगरपालिकामा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । “उद्यमशीलतामा सहकारीः अवसर र चुनौती” विषयक प्यानल छलफलसहितको उक्त कार्यक्रमले सहकारी क्षेत्रको वर्तमान अवस्था र भावी दिशाबारे गहन छलफल गरेको छ ।
कार्यक्रम मध्यविन्दु नगरपालिका, सहकारी रजिस्ट्रारको कार्यालय (गण्डकी प्रदेश), जिल्ला सहकारी संघ लिमिटेड र जिल्ला बचत तथा ऋण सहकारी संघ लि. नवलपुरको संयुक्त आयोजनामा नगरपालिकाको सभाहलमा आयोजना गरिएको हो ।

जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष तिलक प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारी प्रमुख अतिथिको रूपमा रहनुभएको थियो ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको प्यानल छलफलमा सहकारी क्षेत्रका विज्ञहरू सञ्जय राज तिमिल्सना (किसान साकोस) र माधव प्रसाद पौडेल (विकु साकोस) ले कार्यपत्र प्रस्तुत गर्दै आफ्ना धारणा राख्नुभएको थियो । सहकारीमार्फत कसरी स्थानीय स्तरमा उद्यमशीलता विकास गर्न सकिन्छ, विद्यमान कानुनी तथा व्यवहारिक चुनौतीहरू के-के हुन् र ती समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा विज्ञहरूले स्पष्ट मार्गचित्र प्रस्तुत गर्नुभएको थियो।

उक्त छलफलको सहजीकरण जिल्ला सहकारी संघका उपाध्यक्ष तुलमणि पौडेलले गर्नुभएको थियो । कार्यक्रममा सहकारी अभियानमा पु¥याएको योगदान र उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै साना किसान कृषि सहकारी संस्था लि. (मध्यविन्दु-१०, बेलबारी) लाई नगद रु. तिस हजार र ब्रह्म बचत तथा ऋण सहकारी संस्था लि. (मध्यविन्दु-३) लाई नगद रु. बिस हजारसहित सम्मान गरिएको थियो ।
नगरपालिकाका सामाजिक विकास तथा सहकारी शाखा प्रमुख विष्णुप्रसाद शर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण जिल्ला बचत तथा ऋण सहकारी संघका सह-सचिव नारायण पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा मध्यविन्दु नगरपालिकाकी उपप्रमुख पूर्णकला चौधरी, राष्ट्रिय सहकारी महासंघ लि.का सञ्चालक होमनाथ जैसी, सहकारी रजिस्ट्रार कार्यालय, पोखराका प्रशासकीय अधिकृत अमृत कँडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बद्रीनाथ नेपाल, जिल्ला सहकारी संघ लि.उपाध्यक्ष खीना भुसाल, सचिव श्याम सुन्दर लामिछाने , कोषाध्यक्ष टिकाराम कंडेल, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का कोषाध्यक्ष राम काफ्ले लगायतका सहकारी अभियन्ताहरूको उपस्थिति रहेको थियो ।
.jpg)
कार्यक्रममा सहभागी सहकारीकर्मीहरूले सोधेका जिज्ञासाको विज्ञहरूले उत्तर दिएका थिए । यस किसिमको अन्तरक्रियाले सहकारी क्षेत्रमा पारदर्शिता कायम गर्न, संस्थाहरूबीचको समन्वय बढाउन र सदस्यहरूलाई उद्यमशीलतासँग जोड्न कोशेढुङ्गा सावित हुने सहभागीहरूले विश्वास व्यक्त गरेका छन् ।