सांसद खनालद्वारा नवलपुरको विकास एजेन्डा प्रधानमन्त्री समक्ष प्रस्तुत

२०८२ चैत २१ शनिबार १८:५८:०० मा प्रकाशित

गैँडाकोट । नवलपुर क्षेत्र नं. २ का सांसद मनिस खनालले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटेर जिल्लाको समग्र विकास, पूर्वाधार विस्तार र समसामयिक सामाजिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । भेटमा उहाँले बुटवल-नारायणगढ सडक विस्तारलाई निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै दाउन्ने खण्डमा देखिएको गम्भीर ट्राफिक जाम व्यवस्थापनका लागि तत्काल पहल आवश्यक रहेको बताउनुभएको छ । साथै, रणनीतिक रूपमा महत्वपूर्ण मानिएको त्रिवेणी-दुम्किबास सडक परियोजनालाई तीव्रता दिन आग्रह गर्नुभएको छ ।

 

सांसद खनालले नवलपुरको नामाकरण टुंगो लगाउने, सदरमुकाममा आवश्यक प्रशासनिक भवन निर्माण गर्ने तथा सरकारी सेवाहरूलाई डिजिटल माध्यममार्फत सहज रूपमा नागरिकसम्म पु¥याउने विषयलाई प्राथमिकताका साथ उठाउनुभएको छ । त्यसैगरी, नारायणी, विनयी, केरुङ्गे, अरुणखोला र गिरुवारी लगायत खोलाबाट हुने कटान तथा डुबान नियन्त्रणका लागि दीर्घकालीन तटबन्ध निर्माण गर्न पूर्वतयारीसहित काम अघि बढाउन सरकारलाई आग्रह गर्नुभएको छ ।

 

निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन, मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बौदीकाली र बुलिङटारमा इलाका प्रशासन कार्यालय स्थापना तथा हुप्सेकोट, मध्यविन्दु र बौदीकालीमा देखिएको खानेपानी र सिँचाइ समस्याको समाधानका लागि समेत उहाँले ध्यानाकर्षण गराउनुभएको छ । धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण त्रिवेणी, दाउन्ने, वाल्मीकि आश्रम र मदार बाबा धामको गुरुयोजनासहित विकास र प्रवद्र्धन गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

 

यसैबीच, कानुनी शिक्षाको सम्बन्धन प्रक्रियामा देखिएका समस्याहरू समाधान गरी गुणस्तर सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै जेन्जी आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूको न्यायोचित सम्बोधनका लागि पनि सरकारसँग माग गर्नुभएकोे छ । सांसद खनालले मध्यविन्दु प्रादेशिक अस्पतालको स्वास्थ्य पूर्वाधार सुदृढीकरण र सेवा विस्तारका लागि आवश्यक सहयोग र समन्वय गर्न पनि आग्रह गर्नुभएको छ ।