गैँडाकोटमा द्वन्द्व प्रभावित महिलाका लागि २ दिने मनोसामाजिक परामर्श तालिम सम्पन्न
गैँडाकोट । गैँडाकोट नगरपालिकाद्वारा द्वन्द्व प्रभावित महिलाहरुका लागि आयोजित दुई दिने मनोसामाजिक परामर्श तालिम सम्पन्न भएको छ । कार्यक्रम शनिबार विजय विकास स्रोत केन्द्रको सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाकी उपप्रमुख शान्ति कोइरालाले द्वन्द्वबाट प्रभावित महिलाहरुको आत्मविश्वास वृद्धि, मानसिक स्वास्थ्य सुधार तथा सकारात्मक जीवनशैली अपनाउन सहयोग पु¥याउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।
तालिमका प्रमुख प्रशिक्षक क्लिनिकल साइकोलोजिष्ट खिमा रिजालले द्वन्द्व प्रभावित महिलाहरुलाई मनोवैज्ञानिक सहयोग प्रदान गर्नुका साथै दैनिक जीवनमा आउने तनाव, पीडा र आघातलाई व्यवस्थापन गर्न सिकाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार विशेषगरी द्वन्द्वका कारण मानसिक, सामाजिक तथा भावनात्मक असर भोगिरहेका महिलाहरुलाई लक्षित गरिएको हो ।
कार्यक्रममा जिल्ला संयोजक नरमदा पाण्डे, महिला तथा बालबालिका शाखाकी सहायक मिना सापकोटा, द्धन्द पिडीत महिला सञ्जालका अध्यक्ष पार्वती सिग्देल लगायत महिला दिदीबहिनीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण गैँडाकोट नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख राधा पौडेलले गर्नुभएको थियो ।