त्रिवेणी साहित्य प्रतिष्ठान गैंडाकोटद्धारा पुरस्कार समर्पण तथा कृति लोकार्पण
गैंडाकोट । त्रिवेणी साहित्य प्रतिष्ठान गैंडाकोटले पुरस्कार समर्पण तथा कृति लोकार्पण कार्यक्रम गरेको छ । बुधबार गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानको सभाहलमा त्रिवेणी इन्द्रराज काव्य पुरस्कारबाट डाक्टर नवराज लम्साल र त्रिवेणी तिर्थराज छन्द काव्य पुरस्कारबाट कल्पना भट्टराईलाई सम्मान गरिएको हो ।
डाक्टर लम्साललाई नगद रु २५ हजार र भट्टराईलाई नगद रु १५ हजार सहित सम्मानपत्र, दोसल्ला ओडाएर सम्मान गरिएको थियो । त्यस्तै, कार्यक्रममा सदानन्द अभागीका कृतिहरू स्वर्गको यात्रा र इन्द्रराज पौडेलको व्यक्तित्व÷कृतित्व पुस्तकको लोकार्पण गरिएको थियो ।
कार्यक्रममा भाषाविद एवं वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर चुडामणि बन्धुले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि यस्ता साहित्यिक गतिविधिहरू अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले नयाँ पुस्तालाई साहित्यतर्फ आकर्षित गर्न स्रष्टाहरूको योगदान महत्वपूर्ण हुने उल्लेख गर्दै पुरस्कार र कृति लोकार्पणले सिर्जनशीलतालाई थप प्रेरणा दिने धारणा व्यक्त गर्नुभयो।

त्रिवेणी साहित्य प्रतिष्ठान गैंडाकोटका अध्यक्ष इन्द्रराज पौडेलले संस्थाले निरन्तर रूपमा स्रष्टाहरूको सम्मान र कृतिहरूको प्रवद्र्धनमा जोड दिँदै आएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले स्थानीय प्रतिभालाई उजागर गर्नुका साथै साहित्यिक वातावरणलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा गैंडाकोट नगरप्रज्ञा प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, संस्थाका संरक्षक नारायणप्रसाद खनाल, सम्मानित व्यक्तित्व डाक्टर नवराज लम्साल, सम्मानित व्यक्तित्व कल्पना भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा त्रिवेणी इन्द्रराज काव्य पुरस्कारको बारेमा केदारनाथ खनालले र त्रिवेणी तीर्थराज कोइराला छन्दकाव्य पुरस्कारबारे गोविन्दराज कोइरालाले मन्तव्य राख्नुभएको थियो । त्यस्तै, स्वर्गको यात्रा कीर्तिमाथि कपिल अज्ञातले र इन्द्रराज पौडेलको व्यक्तित्व÷कृतित्वमाथि विष्णुमाया पन्थीले आफ्नो धारणा राख्नुभएको थियो ।
गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माले स्वागत मन्तव्य राख्नुभएकोे कार्यक्रमको त्रिवेणी साहित्य प्रतिष्ठान गैंडाकोटका सचिव भूमेश्वर शर्मा भावुकले सहजीकरण गर्नुभएको थियो ।