तराईमा डढेलोसँगै वायु प्रदूषण बढ्दो

२०८३ बैशाख ९ बुधबार १८:५७:०० मा प्रकाशित

काठमाण्डौ । गर्मी बढेसँगै देशभर डढेलोको संख्या पनि बढेको छ । वन तथा भू-संरक्षण विभागको वन डढेलो अनुगमन तथा पहिचान प्रणालीको विवरण अनुसार पछिल्लो २४ घण्टामा देशका १ सय ५९ ठाउँमा वन डढेलो देखिएको छ । धेरैजसो डढेलो तराई क्षेत्रमा देखिएको हो ।

 

चितवनको १९, दाङको १७, पर्साको १५, कपिलवस्तुको १४, नवलपुरको ११ र सल्यानको १० ठाउँमा डढेलो देखिएको छ । अघिल्लो हप्तासम्म वन डढेलो निकै कम देखिएकोमा यो हप्ता देशका ४ सय २९ ठाउँमा डढेलो पहिचान भइसकेको विभागले जनाएको छ । अघिल्लो हप्ता अर्थात् चैत महिनाको २६ गतेदेखि वैशाख २ गतेसम्म जम्मा ३ ठाउँमा सामान्य डढेलो देखिएकोमा त्यसपछि डढेलो बढेको हो ।

 

डढेलोसँगै वायु प्रदुषण पनि बढेको छ । वातावरण विभागको प्रदूषण मापन केन्द्रहरूको विवरण अनुसार अहिले काठमाण्डौ उपत्यकासहित मुख्य शहरी क्षेत्रको धेरैजसो ठाउँमा वायु प्रदूषण अस्वस्थ अवस्थामा पुगेको छ ।