गैँडाकोट नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
गैँडाकोट । गैँडाकोट नगरपालिकाले बिहीबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। हर्कपुरस्थित कृष्ण मन्दिर परिसरमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्ष २०८२–८३ मा सम्पन्न भएका तथा कार्यान्वयनका क्रममा रहेका योजनाबारे जानकारी दिइनुका साथै सुझाव संकलन गरिएको थियो। कार्यक्रममा नगरवासीहरूले लिखित तथा मौखिक रूपमा प्रश्न र सुझाव प्रस्तुत गरेका थिए।
नगरवासीहरूले सार्वजनिक सेवा सुधार, स्थानीय उत्पादनको बजारीकरण नीति, सडक तथा ढल व्यवस्थापन, स्वास्थ्य सामग्री प्रयोगपछिको व्यवस्थापन, फोहोर व्यवस्थापन प्रक्रिया, नदी कटान, नगर अस्पतालको सेवा प्रवाह तथा विद्युत् भोल्टेज समस्या लगायतका विषयमा चासो व्यक्त गरेका थिए।
कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले नागरिक सेवा प्रवाहलाई छिटो, सहज र प्रभावकारी बनाउँदै विकास निर्माणका कामलाई तीव्रता दिइने बताउनुभयो। नगर प्रमुख मदन भक्त अधिकारीले नागरिकका प्रश्न र जिज्ञासालाई सूचीबद्ध गरी क्रमिक रूपमा समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
पूर्व नगर प्रमुख छत्रराज पौडेलले नगर अस्पतालको स्तर उन्नति तथा सार्वजनिक सेवा प्रवाहमा कर्मचारीतन्त्र सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो। नगर उपप्रमुख शान्ति कोइरालाले चालु आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्दै ‘जेनजी आन्दोलन’बाट सिर्जित परिस्थितिका कारण कार्यसम्पादनमा केही प्रभाव परे पनि अब कार्यहरू लयमा फर्किएको बताउनुभयो। उहाँका अनुसार चालु आर्थिक वर्षमा चालुतर्फ ६० दश्मलव ९२ प्रतिशत र पूँजीगततर्फ १५ दश्मलव २८ प्रतिशत वित्तीय प्रगति भएको छ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति बिमल घिमिरेले पालिकाको काम र नागरिकको अपेक्षाबीच तालमेल आवश्यक रहेको बताउनुभयो भने श्रम संस्कृति पार्टी गैँडाकोटका नगर अध्यक्ष तेजबहादुर थापाले सार्वजनिक सेवा सुधारसँगै श्रम संस्कृतिको विकासमा जोड दिनुपर्ने धारणा राख्नुभयो।
त्यस्तै, पूर्वाधार विकास समिति संयोजक प्रेम सापकोटा, वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक प्रकाश सापकोटा, तथा सुशासन तथा संस्थागत विकास समिति संयोजक गोपी कडेललगायतले नागरिकका जिज्ञासाको जवाफ दिएका थिए।
सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले गर्नुभएको थियो।