नेपाल जेरियाट्रिक्स सेन्टरमा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षणप्रति आकर्षण बढ्दै 

२०८३ बैशाख २४ बिहीबार १५:४७:०० मा प्रकाशित

काठमाडौं । नेपाल जेरियाट्रिक्स सेन्टरमा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षणप्रति आकर्षण बढ्दै गएको छ। ६० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूका लागि स्वस्थ बुढ्यौली, रोकथाममुखी स्वास्थ्य सेवा र स्वस्थ दीर्घायु प्रर्वद्घन गर्ने उद्देश्यले अघिल्लो महिना मात्रै स्थापना भएको जेरियाट्रिक्स सेन्टरले स्थापना भएको एक महिनामै उल्लेखनीय उपलब्धि हासिल गरेको हो। 

स्वस्थ बुढ्यौली (healthy aging )तथा दीर्घायु (healthy longevity) कार्यक्रमलाई प्रमुख सेवा मानेर स्थापना गरिएको सेन्टरमा ज्येष्ठ नागिरकहरुको प्रयोगशाला परीक्षण, शरीर संरचना (बडी कम्पोजिसन) विश्लेषण, मांसपेशी स्वास्थ्य जस्ता शारीरिक कार्यक्षमता मूल्यांकन, मुटु रोग जोखिम परीक्षण, महुमेह तथा क्यान्सर स्क्रिनिङ, मानसिक तथा दिमागी शक्ति परीक्षण, दृष्टि तथा श्रवण परीक्षण, न्यूरोडिजेनेरेटिभ रोगहरूको  परीक्षण, पोषण विश्लेषण तथा एआईमा आधारित दीर्घरोग जोखिम पूर्वानुमान सेवा समावेश रहेका छन्।

साथै बहुविषयगत विशेषज्ञ टोली द्वारा एकैसाथ  दिईने स्वास्थ्य परामर्सले  ज्येष्ठ नागरिकलाई स्वास्थ्य समस्या अनुसार फरक फरक विशेषज्ञकोमा धाउनु पर्ने समस्याको अन्त्य हुने  सेन्टरका निर्देशक डा. जगदीशकुमार क्षेत्रीले बताउनुभयो। उहाँका अनुसार  यो केन्द्र  ज्येष्ठ नागरिकहरूका लागि वान स्टप शोलुसन पनि हो ।

निर्देशक डा. क्षेत्रीका अनुसार पहिलो महिनामै जेरियाट्रिक परिक्षण गरेका साढे दुई दर्जनभन्दा बढी ज्येष्ठ नागरिकमा डिमेन्सिया स्क्रिनिङ गरिएको छ भने १५ जनाले विस्तृत स्वास्थ्य परीक्षण गराएका छन्। त्यस क्रममा अधिकांश ज्येष्ठ नागरिकमा शारीरिक कमजोरी, ढाड तथा नसा सम्बन्धी समस्या, साथै मानसिक तनावको समस्या पाइएको क्षेत्रीले बताउनुभयो।स्वास्थ्य परीक्षणपछि सेन्टरले आवश्यक परामर्श, औषधोपचार र दीर्घकालीन स्वास्थ्य सुधारका लागि उपायसहित सुझाव पनि प्रदान गर्दै आएको छ। 

निर्देशक डा. क्षेत्रीका अनुसार सेन्टरप्रति सर्वसाधारण मात्र नभई विभिन्न संघसंस्था र सरोकारवालाहरूको समेत अधिक चासो बढ्दै गएकोले यसलाई ध्यानमा राख्दै सेन्टरले आगामी दिनमा थप सेवा विस्तार गर्दै विश्वस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ। साथै, देशमा छुट्टै ज्येष्ठ नागरिक अस्पतालको आवश्यकता समेत महसुस गरिएको डा क्षेत्रीको भनाइ छ ।

हप्तामा आइतबार बाहेक ६ दिन बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुने यो सेन्टरमा अन्तराष्ट्रिय अनुभव प्राप्त जेरियाट्रिसियन,विशेषज्ञ फिजिसियन्स तथा फिजिकल मेडिसिज एण्ड रिह्याबिलिटेशन विशेषज्ञ, क्लिनिकल न्युट्रिसनिस्ट, जेरियाट्रिक नर्स तथा फार्मासिस्टहरूद्धारा  एकसाथ ज्येष्ठ नागिरकहरुको जाँच तथा परिक्षण र ओषधोपचार गर्ने गरिन्छ।