उत्पादनमूलक सहकारीका लागि व्यवसायिक योजना तर्जुमा तथा क्षमता विकास तालिम सुरु
नवलपुर । “उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता” भन्ने मूल नाराका साथ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यविन्दु नगरपालिका–११, अरुणखोला स्थित हरि नारायण दुग्ध उत्पादक सहकारी संस्था लि.मा उत्पादनमूलक सहकारी संस्थाहरूका लागि तीन दिवसीय ‘व्यवसायिक योजना तर्जुमा तथा क्षमता विकास तालिम’ भव्य रूपमा सुरु भएको छ।
सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजना तथा जिल्ला सहकारी संघ लि. र जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि., नवलपरासी (ब.सु.पू.) को समन्वयमा उक्त तालिम सञ्चालन भएको हो। यो तालिम जेठ १७ गतेसम्म चल्ने जिल्ला सहकारी संघ लि.का सचिव श्याम सुन्दर लामिछानेले बताउनुभयो।
तालिमको उद्घाटन सत्र सहकारी रजिस्ट्रारको कार्यालय ,पोखराका निमित्त रजिस्ट्रार नारायण प्रसाद ढकालको अध्यक्षता तथा मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा सहकारी रजिस्ट्रारको कार्यालयका प्रशासनिक अधिकृत अमृत प्रसाद कँडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन अधिकृत सूर्य प्रसाद आचार्यले गर्नुभएको थियो।
तालिममा ३० जना अगुवा कृषक तथा सहकारीकर्मीहरूको सहभागिता रहेको थियो ।तालिममा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाभरि रहेका विभिन्न दुग्ध उत्पादक तथा उत्पादनमूलक सहकारी संस्थाहरूको प्रतिनिधित्व हुने गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ। जसमा सहकारीका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, व्यवस्थापक, कर्मचारी तथा सेयर सदस्यहरू सहभागी छन्। यो तालिमले उत्पादनमूलक सहकारीको व्यावसायिक जग बलियो बनाउने र आन्तरिक सुशासन चुस्त राख्न मद्दत पु¥याउने विश्वास गरिएको छ।
किसान र युवालाई व्यवसायिक बनाउनु पर्नेमा जोड दिदै मध्यबिन्दु नगर प्रमुख भीमलाल अधिकारीले परम्परावादी सोचबाट माथि उठेर किसानहरूलाई व्यवसायिक बनाउन बजारिकीकरणको गहन अध्ययन आवश्यक रहेको बताउनुभयो। व्यवसायलाई युग सापेक्ष र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयोः
“दूधको भुक्तानीमा देखिएका विद्यमान समस्याहरू समाधान गर्न स्थानीय सरकार सदैव किसानहरूको साथमा छ। युवाहरूलाई उत्पादन कार्यमा आकर्षित गरी आम्दानी बढाउन र युवा तथा कृषिलाई जोड्न आवश्यक छ। साथै, विषादी र रासायनिक मलको प्रयोगलाई क्रमशः घटाउँदै लैजानुपर्छ।“
कार्यक्रमका अध्यक्ष एवं निमित्त रजिस्ट्रार नारायण प्रसाद ढकालले यो त्रिदिवसीय तालिम केवल सैद्धान्तिक मात्र नभई ’सिक्ने र प्रयोग गर्ने’ प्रयोगात्मक विधिमा आधारित रहने स्पष्ट पार्नुभयो। उहाँले यस कार्यक्रमलाई सिर्जनात्मक रूपमा सफल बनाउन सहयोग गर्ने समन्वयकारी जिल्ला सहकारी संघ लि. र जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. लाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो।
तीन दिनसम्म चल्ने उक्त तालिममा विभिन्न विषयविज्ञहरूले प्राविधिक तथा व्यवस्थापकीय सत्रहरू
– सहकारी कानून, मूल्य, मान्यता र सिद्धान्तः अमृत प्रसाद कँडेल (प्रशासनिक अधिकृत)
– कोपोमिस (ऋइएइःक्ष्क्) प्रणाली, सहकारीमा सेयर, सदस्य समिति र व्यवस्थापनको भूमिका, एवं ऋण लगानीको असली प्रक्रियाः सूर्य प्रसाद आचार्य (अधिकृत)
– गाई÷भैँसी पालन एवं व्यवस्थापनः डा. सुरेन्द्र तिवारी (विषयविज्ञ)
– खाद्य स्वच्छता तथा गुणस्तरः ज्योति आचार्य (विषयविज्ञ)
– व्यवसायिक योजना तर्जुमाः नारायण प्रसाद ढकाल (निमित्त रजिस्ट्रार)
संचालन गर्नु हुनेछ।
उद्घाटन सत्रमा जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. की उपाध्यक्ष सीता गैह्रेले दुग्ध उत्पादनको अवसरलाई यो तालिमले अझ उच्च स्तरमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो।
जिल्ला सहकारी संघ लि. का अध्यक्ष तिलक प्रसाद पराजुलीले यो तालिमले जिल्लाका उत्पादनमूलक सहकारीहरूको आन्तरिक सुशासन र व्यवसायिक क्षमता अभिवृद्धिमा कोसेढुङ्गा सावित हुने बताउनुभयो।
कार्यक्रममा जिल्ला सहकारी संघ लि. का उपाध्यक्ष तुलमणि पौडेल, सचिव श्याम सुन्दर लामिछाने, हरिनारायण दुग्ध उत्पादक सहकारी संस्था लि. का अध्यक्ष धनपति भण्डारी लगायत जिल्लास्थित विभिन्न सहकारी संघ–संस्थाका संचालक, कर्मचारी र रजिस्ट्रार कार्यालयका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।