समयमा पाठ्यपुस्तक उपलब्ध नभए के गर्ने ?
बैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । नयाँ शैक्षिक सत्र सुरु हुन डेढ महिना मात्र बाँकी छ । अघिल्ला शैक्षिक सत्रहरुको सुरुवातका समयमा नै विद्यार्थीहरु माझ पाठ्यपुस्तकको पहुँच पुगेन । पाठ्यपुस्तकको सहज पहुँच नहुँदा शिक्षण सिकाइ नै प्रभावित भयो । सबै विद्यार्थीमाझ पाठ्यपुस्तक उपलब्ध नभएको भन्दै विद्यालयहरुमा शिक्षण सिकाइ प्रक्रिया अघि बढ्न नसकेको प्रष्ट देखिन्थ्यो । यस पटक समयमै पुस्तक उपलब्ध गराउन सरकार लागि परेको छ ।
अघिल्लो शैक्षिक सत्रमा पनि निजि प्रकाशनलाई ३ कक्षासम्मको पुस्तक छपाइका लागि जिम्मेवारी दिएको थियो । यस वर्ष पनि पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०८० का लागि कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाई गरी बिक्री वितरण गर्न १३ वटा निजी संस्थाहरू छनोट गरिसकेको छ । आशा गरौँ पुस्तकहरु समयमा नै उपलब्ध हुने छन् । तर प्राविधिक समस्याका कारण पाठ्यपुस्तकहरु उपलब्ध नभएको खण्डमा के शिक्षण सिकाइ नै रोक्नु पर्ने हुन्छ त ? पाठ्यपुस्तक सहजरुपमा उपलब्ध नभएको खण्डमा कसरी शिक्षण सिकाइ प्रभावकारी बनाउन सकियला त ? यता तर्फ विद्यालयहरुको पूर्वतयारी प्रभावकारी बनाउनुपर्दछ ।
विशेष गरि सामुदायिक विद्यालयहरुमा पाठ्य पुस्तक समयमा उपलब्ध नहुने समस्या रहने गर्दछ । पाठ्यपुस्तक समयमा उपलब्ध नभएपनि पाठ्यक्रमका आधारमा पनि शिक्षण सिकाइलाई निरन्तरता दिन सकिन्छ । पाठ्यपुस्तक साध्य होइन, साधन मात्र हो । हामीले विद्यार्थीमाझ पुस्तकको माध्यमबाट सिकाइ वा ज्ञान दिन खोजेका हौँ । तसर्थ सिकाइ र ज्ञानका लागि विकल्पहरु हुन्छन् भन्नेमा हामी जानकार नै छौँ होला । आर्थिक तथा भौतिक रुपमा सम्पन्न विद्यालयहरुमा आइसिटि पूर्वाधार रहेको छ । कक्षा कोठामा स्मार्ट टिभि वा प्रोजेक्टरको व्यवस्था भएका सामुदायिक विद्यालयहरुले कक्षा कोठाकै भित्तामा पुस्तक देखाएर सिकाइ प्रक्रिया अघि बढाउन सकिन्छ । सरकारी वेभसाइट www.moecdc.gov.np मा पुगेर सजिलै पाठ्यपुस्तकहरुको पिडिएफ फाइल डाउनलोड गर्न सकिन्छ ।
यदि विद्यालयका कक्षा कोठाका भित्ताहरुमा स्मार्ट टिभि छैन, प्रोजेक्टरको अभाव छ भने पनि अन्य सहज विकल्पहरु छन् । अन्तिम परिक्षामा सहभागि विद्यार्थीहरुका पाठ्यपुस्तक संकलन गरेर नयाँ कक्षाका विद्यार्थीहरुका लागि केही साताका लागि पुस्तक वितरण गरेर पनि सिकाइ प्रक्रियालाई अघि बढाउन सकिन्छ । केही समय पश्चात् नयाँ पाठ्यपुस्तकहरु सहजरुपमा उपलब्ध भइहाल्छन् । कक्षा कोठाका सबै विद्यार्थीका लागि पुस्तक उपलब्ध गराउन नसकिएको खण्डमा पनि अन्य विकल्पहरु हुन सक्दछन् ।
कक्षाकोठाभित्र इन्टरनेटको पहुँच भएका विद्यार्थीले इन्टनेट मार्फत पाठ्यपुस्तक डाउनलोड गर्न सक्दछन्, इन्टनेटको पहुँच नभएका विद्यार्थीलाई संकलित केही पुराना पाठ्य पुस्तकबाट पनि सिकाइ प्रक्रियालाई निरन्तरता दिन सकिन्छ । यदि यो विकल्पमा पनि असमर्थ रहेको खण्डमा एउटा कक्षा कोठामा ५० जना विद्यार्थी छन् भने विद्यार्थीहरुलाई ५ वटा समूहमा विभाजन गरेर प्रति समूह १ सेट पुराना पाठ्यपुस्तक उपलब्ध गराएर सिकाइ प्रक्रिया अघि बढाउन सकिन्छ । कक्षाकोठाभित्र प्रयाप्त सिकाइको अवसर र वातावरण तयार गर्ने र पुस्तक विना पनि गृहकार्य गर्न सकिने परियोजनाहरु गर्न लगाएर पनि शिक्षण सिकाइ गर्न सकिन्छ । यस तर्फ शिक्षक तथा विद्यालयहरुले तयारी गर्नु उपयुक्त हुन्छ ।
हरेक कक्षाकोठाका कर्नरहरुमा सानो पुस्तकालयको व्यवस्था गर्न सक्ने हो भनेपनि शिक्षण सिकाइ प्रक्रियालाई थप अगाडी बढाउन सक्दछौँ । विद्यालयको अवस्था अनुसार राम्रा दराज देखि बाँसका र्याकसम्म प्रयोग गर्न सकिन्छ । योे पनि असम्भव भए कपडाको पनि पुस्तक राख्ने र्याक बनाउन सक्दछाँै । सामुदायिक विद्यालयका शिक्षकहरु प्रयाप्त तालिमप्राप्त, बाल शिक्षण विधिको जानकार भएका कारण पनि समूह समूहको विभाजनबाट निश्चित पाठ्यपुस्तकबाट पनि सिकाउन सकिन्छ । पुस्तक नभएकै कारण अल्झिएर बस्नुपर्ने हुँदैन ।
समयमा पाठ्यपुस्तक उपलब्ध नहुँदा अर्को गज्जवको कामबाट पनि सिकाइ प्रक्रियालाई अघि बढाउन सकिन्छ । कक्षोन्नती भएका विद्यार्थीहरु शतप्रतिशत सिकाइ उपलब्धी नभएका पनि हुन सक्दछन् । तसर्थ उनिहरुको शैक्षिक उपलब्धीको अवस्था अनुसार केही समय पुरानै पाठ्यपुस्तकको सहाराबाट पुनर्अभ्यास गराउन सकिन्छ । एकदुई साता अघिल्लो कक्षाको पाठ्यविषयहरु पुनर्अभ्यास गराएर पनि सिकाउन सकिन्छ । तसर्थ शैक्षिक सत्रको सुरुवाती अवस्थामा पाठ्यपुस्तकहरु उपलब्ध नभएको खण्डमा पाठ्यक्रम अनुसार सिकाइ प्रक्रियालाई अघि बढाउन सकिन्छ ।
पाठ्यक्रमको मुख्य लक्ष्य भनेको पाठ्यपुस्तक घोकाउने पनि होइन, रटाउने पनि होइन, विद्यार्थीको रुचि, आवश्यकता र क्षमताअनुसार ज्ञान, सीप र व्यवहार सिकाइ शैक्षिक कार्यक्रमलाई व्यवस्थित र योजनाबद्ध ढंगले सञ्चालन गरी तोकिएका उद्देश्य पूरा गर्नका लागि बनाइएको विस्तृत योजना पाठ्यक्रम हो । यही योजना अनुरुप विद्यार्थीलाई सिकाइ प्रक्रियामा सहभागि गराउन सकिन्छ । विद्यार्थीलाई कुनै पनि विषयको सिकाइ प्रक्रियामा सहभागि गराउन पाठ्यपुस्तक तत्काल उपलब्ध नभएको खण्डमा पनि गराउन सकिन्छ । सूचना तथा प्रविधिको युगमा कतिपय विद्यालयहरु बुकलेस अवधारणामा अघि बढेको देखिन्छ । पाठ्यपुस्तक साध्य होइन साधन मात्र हो ।