वाटरल्यान्ड पार्कमा झडप, १० जना विद्यार्थी पक्राउ

२०८२ जेठ ४ शनिबार १५:३५:०० मा प्रकाशित

काठमाडौं । धनुषाको छिरेश्वरनाथ नगरपालिका-१ रमदैयामा रहेको वाटरल्यान्ड पार्कमा झडप तथा तोडफोड गर्ने १० जना विद्यार्थी पक्राउ परेका छन् । विशेष छुटमा नुहाउन पुगेका कक्षा १२ को परीक्षा दिएका परीक्षार्थीहरूले शनिबार (आज) दिउँसो वाटरल्यान्ड पार्कमा तोडफोड गरेका हुन् ।

सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । जनकपुर ढल्केवर सडकखण्ड समेत अवरुद्ध गरेर तोडफोड गर्न थालेपछि प्रहरी र विद्यार्थीबीच झडप भएको थियो ।


झडपको क्रममा चार सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जीव कुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार झडपमा ढुङ्गामुढा लागेर पाँचजना प्रहरी समेत घाइते भएका छन् ।

 

तोडफोडमा संलग्न रहेको आरोपमा १० जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । ‘अहिले तत्काल १० जनालाई पक्राउ गरिएको छ । हामी सिसिटिभी फुटेजहरू क्यामेराहरू हेर्दैछौँ । त्यसमा कसले के गरेको छ त्यस अनुसार अनुसन्धान गर्दै संलग्नलाई पक्राउ गर्छौं,’ सूचना अधिकारी प्रहरी निरीक्षक यादवले भन्नुभयो। पार्कमा लाखौँको क्षति भएको र अहिले अनुसन्धान जारी रहेको समेत उहाँले जानकारी दिनुभयो ।