राष्ट्रपतिको म्यान्डेट लिएर सल्लाहकारहरू सरोकारवालासँग जुटे छलफलमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनबारे सरोकारवालाहरूसँग छलफल गर्ने जिम्मेवारी आफ्ना सल्लाहकारहरूलाई दिनुभएको छ । पौडेलको म्यान्डेट लिएर उहाँका सल्लाहकारहरू लक्ष्मी निवासमा रहेको भैरवनाथ गणमा सरोकारवालासँग छलफल गर्न पुगेका छन् ।
पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापा, परराष्ट्र सल्लाहकार डा.सुरेश चालिसे, कानुनी सल्लाहकार बाबुराम कुँवर, प्रेस सल्लाहकार किरण पोखरेल भैरवनाथ गणमा पुगेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिनुभयो ।
त्यहाँ उनीहरूले जेनजीका प्रतिनिधि, राजनीतिक दलका नेताहरू, संविधानविद्, कानुनविद् र अन्य व्यक्तिहरूसँग आवश्यकताका आधारमा छलफल गर्ने स्रोतले बताएको छ ।
राष्ट्रपति पौडेलले आफ्नो निवासमा अहिले प्रधानसेनापति अशोकराज सिग्देलसँग कुराकानी गरिरहेका छन् । सल्लाहकारहरूले छलफलबाट ल्याएको निचोड राष्ट्रपतिलाई ब्रिफिङ गर्ने र त्यसपछि त्यही ब्रिफिङका आधारमा राष्ट्रपति अगाडि बढ्ने तयारी राष्ट्रपतिको छ ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपतिले अहिले प्रधानसेनापति सिग्देलसँग घटनाक्रम र अब कसरी अगाडि बढ्ने भन्नेबारे ब्रिफिङ लिइरहेका छन् ।