जेनजी आन्दोलनका क्रममा भएको  घटनाप्रति माओवादी केन्द्रको ध्यानाकर्षण

२०८२ भदौ २७ शुक्रबार १५:२४:०० मा प्रकाशित

गैँडाकोट । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले जेनजी  पुस्ताले आह्वान गरेको आन्दोलनका क्रममा भएको राज्यपक्षीय बर्बरताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टी गैंडाकोट नगर समितिका अध्यक्ष प्रकाश अधिकारी र इन्चार्ज कृष्ण सागर भट्टराईद्वारा संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा आन्दोलनमा दिवंगत भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

 

भदौ २४ गतेको आन्दोलनका क्रममा गैँडाकोट नगर समितिको पार्टी कार्यालय, गैँडाकोट नगरपालिकाको कार्यालय र सवारी साधन, नगर प्रमुख मदनभक्त अधिकारीको घर र सवारी साधन, उपप्रमुख शान्ति कोइरालाको घर, नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, पूर्व गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको घर, नेपाली कांग्रेस क्षेत्रीय सभापति एवं समाजसेवी अमृत भट्टचनको घर र सवारी साधन, एमाले उपसचिव तथा समाजसेवी षडानन्द लामिछानेको घर र सवारी साधन, नेपाली कांग्रेस नगर सभापति बद्री सापकोटाको सवारी साधन, मौलाकालिका केबलकार भवन तथा गैँडाकोट नगरपालिकाका वडा नं। १, ४, ५, ७, ८ र ९ का वडा कार्यालयमा तोडफोड र आगजनी भएको विज्ञप्तिमा उल्लेख छ। माओवादी केन्द्रले ती घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ।

 

विज्ञप्तिमा भनिएको छ, “नेकपा (माओवादी केन्द्र) नेपाली समाज रूपान्तरणको पक्षमा अडिक भएर लड्दै आएको छ। गणतन्त्रको अभ्यासका क्रममा भएका कमीकमजोरीको समीक्षा गर्दै अघि बढ्ने पार्टी भएकाले नयाँ र राम्रा कामलाई प्रोत्साहन गर्ने हाम्रो नीति हो। परिवर्तन विरोधीहरूले फैलाउँदै आएको झूटो प्रचारप्रति भ्रममा नपरी सशक्त जनपक्षीय आन्दोलनलाई समर्थन गर्न आग्रह गर्दछौं।”

 

माओवादी केन्द्रले परिवर्तनका पक्षमा हुने नेपाली जनताको अधिकार सम्पन्न, सुशासन र सामाजिक न्याय कायम गर्न सकिने सबै खाले आन्दोलन र पहलकदमीमा आफ्नो साथ र समर्थन रहने पनि जनाएको छ।