सवारी चालक अनुमतिपत्र छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण कार्य अनिश्चितकालका लागि बन्द भएको घोषणा गरेको छ ।
विभागले जारी गरेको सूचनामा भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा विभागको संरचनामा भएको तोडफोड, आगजनी, चोरी तथा लुटपाटका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन र सर्भरमा क्षति पुगेको उल्लेख गर्दै विद्युतीय सवारी साधन दर्ता प्रणालीसहित सूचना प्रविधिसम्बन्धी सम्पूर्ण सेवा अवरुद्ध भएको विभागले जनाएको छ ।
विभागका अनुसार अर्को सूचना नआएसम्म चालक अनुमतिपत्र छपाइ र वितरण लगायतका सबै सूचना प्रविधि आधारित सेवा बन्द रहनेछ ।