स्वास्थ्य मन्त्रालयले स्वास्थ्य अनुसन्धान परिषदबाट काम सञ्चालन गर्ने

काठमाडौँ । भदौ २४ गते आन्दोलनकारीहरूले रामशाह पथमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भवन जलाएर ध्वस्त पारिदिएपछि सेवा सुचारु गर्न नसकेको मन्त्रालयले आइतबारदेखि अस्थायी रूपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को भवनबाट काम सुरु गर्ने भएको छ ।
मन्त्रालयका सचिव डा.विकास देवकोटाले एनएचआरसीको भवनबाट अस्थायी रूपका काम गर्नका लागि व्यवस्थापन गर्ने काम भइरहेको जानकारी दिनुभयो । ‘मन्त्रालयको भवन, कागजात, फर्निचर, कम्प्युटर, गाडी मोटर सबै जलेका कारण मन्त्रालयमा बसेर काम गर्न सक्ने अवस्था नरहेको उहाँको भनाई छ । काम शून्यबाट सुरु गर्नुपर्ने अवस्था आएका कारण मन्त्रालयका उच्च अधिकारीहरूको छलफलले एनएचआरसीबाट कामकाज सुरु गर्ने तयारी गरेर त्यहाँ व्यवस्थापन गरिरहेको सचिव डा.देवकोटाको भनाइ छ ।
मन्त्रालयले सिंहदरबारभित्र प्रतिनिधिसभासँगै बन्न लागेका केही भवनमध्ये एउटा भवन स्वास्थ्यलाई उपलब्ध गराउन आग्रह गरिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहत देशभरि ३० हजार भन्दा कर्मचारी कार्यरत रहेका छन् ।
सचिव डा.देवकोटाले आफूहरूले सिंहदरबार परिसरमा मन्त्रालय सञ्चालनका लागि पहल गरे पनि तत्काल त्यो माग पूरा हुने नदेखेपछि एनएचआरसीमा काम सुरु गर्ने तयारी रहेको बताउनुभयो । तर, भित्र जानका लागि छलफल भने जारी रहेको उहाँको भनाइ छ ।