सरसफाइ गरेर अधिकांश मन्त्रालयको सेवा सुचारु गरिँदै

२०८२ भदौ २९ आइतबार १६:५४:०० मा प्रकाशित

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनको नाममा भएको आगजनी र तोडफोडले अवरुद्ध भएको सिंहदबारभित्रका अधिकांश मन्त्रालयमा सेवा सुचारु हुन थालेको छ । सिंहदरबारभित्र रहेको प्रधानमन्त्री कार्यालयसहित अधिकांश मन्त्रालयर विभागीय कार्यालयका भवनमा भदौ २४ गते आगजनी र तोडफोड भएको थियो । विभिन्न भवनमा भएको तोडफोडपछिका फोहोर सफाइ गरेर सेवा सुचारु गर्न थालिएको हो ।

 

मन्त्रालयका कर्मचारी र सफाइकर्मी सरसफाइमा जुटेका छन् । सेवा सुचारु हुन थालेसँगै विभिन्न मन्त्रालय र विभागीय कार्यालयमा आइतबार सेवाग्राहीको उपस्थिति देखिन्छ । सिंहदरबारबाहिर रामशाह पथमा रहेको स्वास्थ्य मन्त्रालयमा समेत आगजनी भएको थियो । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाको विरोधमा सडकमा प्रदर्शन चलिरहँदा केही समूहले सिंहदरबारभित्र प्रवेश गरेर आगजनी र तोडफोड गरेका थिए ।

देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदबारभित्र भएको आगजनी र तोडफोडले भौतिक पूर्वाधारसँगै महत्त्वपूर्ण कागजात जलेर नष्ट हुँदा अपूरणीय क्षति भएको छ । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै सरकारी संरचनामा आगजनी र तोडफोड गर्नेविरुद्ध छानबिन गरी कारबाही गर्ने बताउनुभएको छ । सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय शीतल निवास, बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी आवाससहित विभिन्न सरकारी कार्यालय रहेका भवनमा आगजनी र तोडफोड भएको थियो ।