जेनजी प्रर्दशन: तोडफोड र आगजनी गर्नेलाई कानुनी दायरामा ल्याउन नवलपुरका जनप्रतिनिधिको माग

नवलपुर । जेनजी आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा भएको तोडफोड तथा आगजनीमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन नवलपुरका जनप्रतिनिधिहरूले सरकारसँग माग गरेका छन्।
आज नवलपुरमा आयोजित औपचारिक कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधिहरूको उपस्थितिमा ज्ञापनपत्र जारी गर्दै उनीहरूले शान्ति–सुरक्षाको प्रत्याभूति गराउन आग्रह गरेका हुन्।
विज्ञप्ति मार्फत जनप्रतिनिधिहरूले आन्दोलनका क्रममा ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्। यस्तै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी, देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपाने, कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुसाल, मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख भीमलाल अधिकारी, हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी देवी पाण्डे, विनय त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीसहित विभिन्न पालिकाका प्रमुख–उपप्रमुख तथा जनप्रतिनिधिहरू उपस्थित थिए।
विज्ञप्ति वाचन गर्दै मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख भीमलाल अधिकारीले दोषीलाई कानुनी कारबाही गर्नुपर्नेमा जोड दिँदै सहज वातावरणमा काम गर्ने अवस्था सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।