निर्वाचन प्रयोजनका लागि ३८ दल दर्ता
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३८ दल दर्ता भएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३८ र राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि ८ दल दर्ता भएका छन् ।
त्यस्तै, २८ दल दर्ता प्रक्रियामा रहेको उहाँले बताउनुभयो । निर्वाचनका लागि सुरक्षा, व्यवस्थापकीय लगायतका कामलाई कार्य योजना बनाएर नै काम गरिरहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै, प्रवक्ता भट्टराईले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पुरा हुने मितिलाई निर्दिष्ट समय कायम गर्ने बताउनुभयो ।
आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण यही मङ्सिर २० गते आयोगको वेबसाइटमा प्रकाशन गर्ने र त्यसमाथि कुनै त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गते सच्चाउन सकिने छ । विवरण सच्याउने काम सकिएपछि आगामी पुस १५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने प्रवक्ता भट्टराईको भनाई छ ।