आचारसंहिता पालन र विद्यालय वतावरण सुन्दर बनाउन गैँडाकोट नगरपालिकाको निर्देशन 

२०८२ पौष २४ बिहीबार १७:४८:०० मा प्रकाशित

गैंडाकोट । शैक्षिक गुणस्तर सुधार एवं शैक्षिक वातावरणलाई सुन्दर बनाउनका लागि गैँडाकोट नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई निर्देशन जारी गरेको छ । नगर शिक्षा समितिको निर्णयअनुसार शिक्षक, कर्मचारी, विद्यालय प्रशासनलाई सो निर्देशन जारी गरेको गैँडाकोट नगरपालिकाले जनाएको छ । 


नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले बिहिबार निर्देशन जारी गर्दै विद्यार्थी, शिक्षक र कर्मचारी आचारसंहिता कार्यान्वयन एवम् बालमैत्री विद्यालय तथा गुणस्तरिय शिक्षाका सम्बन्धमा आम जनसाधारणहरुको चासोलाई समेत मध्यनजर गर्दै आचारसंहिता कार्यान्वयन, विद्यालयहरुको वातावरण सुन्दरता, सजावट र सरसफाइका सन्दर्भमा सुधार गर्नुपर्ने अवस्था देखिएकोले निर्देशन जारी गरेको जनाउनु भएको छ।


नगरपालिकाले विद्यालयहरुमा कार्यरत शिक्षक, कर्मचारी र विद्यार्थीहरुले नेपाल सरकारबाट पुस १२ गते जारी निर्वाचन आचारसंहिता र शिक्षा नियमावली २०५९ को नियम १३३ र १३४ को आचारसँहिता अनिवार्य रुपमा पालना गर्न र गराउन निर्देशन गरेको छ । त्यसैगरी, शिक्षकहरुलाई विद्यालय समयमा सामाजिक संजाल प्रयोग नगर्न, अनावश्यक सामाग्री पोष्ट नगर्न र अनावश्यक प्रतिकृया नराख्न निर्देशन गरेको छ । 


साथै राष्ट्रिय झण्डा र विद्यालयको झण्डा विद्यालय समयमा अनिवार्य रुपमा राख्ने व्यवस्था गर्ने, झण्डाहरु पुरानो भइ च्यातिएको बिग्रिएको अवस्था समेत भएमा नयाँ व्यबस्था मिलाउन, विद्यालयको नाम देखिने गरी विद्यालयको बोर्ड राख्न, विद्यालय परिसर फोहोर देखिएकोमा सरसफाई गरि फोहोर फाल्ने डस्टविनहरुको व्यवस्था प्रयोग हुने ठाँउमा मिलाई सफा र हराभरा विद्यालय परिसर बनाउन, अफिस कक्ष र विद्यालयको कक्षाको सरसफाई गरि सामाग्री उपयुक्त स्थानमा राख्ने प्रवन्ध मिलाई आकर्षक अफिस र कक्षाकोठा बनाउन, शौचालयहरु समेत कतिपय विद्यालयमा फोहोर र प्रयोग विहिन वा प्रयोगका लागि असहज देखिएकोले सफा र प्रयोग युक्त अविलम्ब बनाउन, विद्यालयका गेट, झ्याल, ढोका र शौचालयमा सामान्य चुकुल नभएको, नलाग्ने अवस्था भएको र कति सामान्य मर्मत संभार गर्नुपर्ने अवस्था देखिएकोले तुरुन्त सोको आवस्यक व्यवस्थापन गर्न, विद्यालयमा टुटे फुटेका, बिग्रिएका र जोखिम पुर्ण प्रयोग विहिन सामाग्रीहरु यत्रतत्र देखिएकोले वालवालिकाको पहुँच भन्दा टाढा छुट्टै स्टोर व्यबस्थापन गरि राख्ने व्यबस्था मिलाउन, विद्यालयका भित्ताहरु समेत अत्यन्त फोहोर र रंगरोगन विहिन भै उजाड जस्ता देखिने अवस्था समेत देखिएकोले आवश्यक रंगरोगन गरि आकर्षक बनाउन, विद्यालय समयमा शिक्षक, विद्यार्थी पोषाक र परिचयपत्रको अनिवार्य रुपमा प्रयोग गर्न गराउन, विद्यालयमा स्वच्छ र सफा खानेपानीको उचित प्रवन्ध मिलाउन निर्देशन दिएको छ ।