गैँडाकोट–५ का ज्येष्ठ नागरिकलाई पौष्टिक आहार वितरण
गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ५ को आयोजनामा वडाभित्रका ज्येष्ठ नागरिकलाई पौष्टिक आहार वितरण गरिएको छ । वडामा ८० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकहरुलाई लक्षित गर्दै जाडो मौसममा स्वास्थ्य सुदृढ बनाउन च्यवनप्राश वितरण गरिएको हो ।
वडाका ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई पौष्टिक आहार वितरण गरिएको जानकारी गैँडाकोट–५ की वडा सदस्य तथा नगरकार्यपालिका सदस्य शान्ती न्यौपानेले दिनुभयो । उहाँका अनुसार ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै कार्यक्रम सञ्चालन गरिएको हो । उहाँका अनुसार गैँडाकोट आधारभूत अस्पताल परिसर, गणेश मन्दिर परिसर र राधा दामोदर मन्दिर परिसर गरी तीन स्थानमा वितरण गरिएको हो । साथै कार्यक्रम स्थलमा आउन नसक्ने ज्येष्ठ नागरिकलाई घरमै पुगेर वितरण गरिएको नगरकार्यपालिका सदस्य न्यौपानेले जानकारी दिनुभयो ।

कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले चालु आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत वार्षिक योजना अनुसार ज्येष्ठ नागरिकलाई जाडो मौसममा शरीरलाई तातो र पोषणयुक्त राख्न च्यवनप्राश वितरण गरिएको बताउनुभयो । वडाभित्रका करिब १७० जना ज्येष्ठ नागरिकलाई पौष्टिक आहार वितरण गरिएको बताउँदै अध्यक्ष सापकोटाले आगामी दिनमा पनि ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।

कार्यक्रममा गैँडाकोट–५ का वडा सदस्य उषा परियार, वडा सदस्य तुलसीराम गौतम, वडा सदस्य द्रोण वन सन्यासी, वडा सचिव कमला सिग्देल, सब–इन्जिनियर समीक्षा पौडेल, पूर्ण टोल विकास संस्थाका अध्यक्ष जगन्नाथ आचार्य, भवानी टोल विकास संस्थाका अध्यक्ष गोविन्द घिमिरे, गणेश मन्दिर टोल विकास संस्थाका अध्यक्ष गौरिशंकर कडेंल, इन्द्रेणी टोल विकास संस्थाका अध्यक्ष टेकबहादुर कार्की, राधाकृष्ण टोल विकास संस्थाकी अध्यक्ष पार्वती सापकोटा लगायत विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।