कालिका मन्दिर–कालिका आश्रमद्वारा आयोजित बृहत् भजन प्रतियोगिता सम्पन्न

गोपेश्वर शिवालय मन्दिर प्रथम

२०८२ चैत ८ आइतबार १९:१२:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट–८ स्थित कालिका मन्दिर–कालिका आश्रमको ५०औँ वार्षिक उत्सवको अवसरमा मठमन्दिर स्तरीय बृहत् भजन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा ७ वटा टिमको सहभागिता रहेको थियो।

“देवीको महिमा, वैदिक सनातन हिन्दु धर्म संस्कृतिको महत्व” विषयमा विभिन्न समूहहरूले भजन प्रस्तुत गरेका थिए। प्रतियोगितामा गोपेश्वर शिवालय मन्दिर, गैँडाकोट–२ प्रथम हुँदै नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भयो।

यसैगरी मौलाकालिका मन्दिर, गैँडाकोट–१ द्वितीय हुँदै १० हजार रुपैयाँ र हरिओम् सत्संग साधना सदन, गैँडाकोट–९ तृतीय हुँदै ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। श्री हरिहर मन्दिर, परमानन्द सन्न्यास आश्रम, गैँडाकोट–७ ले सान्त्वना स्थान हासिल गर्दै ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।

सहभागी अन्य समूहहरूलाई पनि नगद २ हजार रुपैयाँ प्रदान गरिएको मन्दिरका सचिव दयासागर सुवेदीले जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाकी उपप्रमुख शान्ति कोइरालाले मठमन्दिरको जगेर्ना, भजन–कीर्तन र आराधना हाम्रो संस्कृति र पहिचान भएको बताउनुभयो। संस्थापक उपाध्यक्ष विष्णुकुमारी कँडेल सापकोटाले यस्ता धार्मिक कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्नुभयो।

प्रतियोगिताको निर्णायक मण्डलमा हिरालाल कँडेल र रामु आचार्य रहनुभएको थियो। मन्दिरका अध्यक्ष पीताम्बर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष तथा प्रतियोगिता संयोजक पशुपति सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सत्संग समितिकी सचिव पद्मा सुवेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

त्यस्तै, शनिबार सम्पन्न ज्योति कात्ने प्रतियोगितामा समुन्नति टोल महिला समूह, गैँडाकोट–५ प्रथम, गणेश मन्दिर महिला कृषक समूह, गैँडाकोट–८ द्वितीय र नन्दन कालिका महिला समूह, गैँडाकोट–८ तृतीय भएका छन्। मातृभूमि महिला समूहले सान्त्वना स्थान हासिल गरेको छ।

उक्त प्रतियोगितामा १७ वटा समूहको सहभागिता रहेको थियो भने प्रत्येक समूहमा तीन जना सदस्य रहेका थिए। प्रतियोगिताका संयोजक गीता न्युरे सापकोटाका अनुसार कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।

ताजा खबर