गैंडाकोटमा पेशागत क्षमता अभिवृद्धि तालिम सुरु
गैंडाकोट । गैंडाकोटमा पेशागत क्षमता अभिवृद्धि तालिम २०८३ को उद्घाटन गरिएको छ । नेपाल संस्कृत विश्वविद्यालयको आयोजनामा तथा विश्वविद्यालय अनुदान आयोग नेपालको सहयोगमा मंगलबारदेखि गैंडाकोट–२ स्थित होटल रिभर क्राउनमा सञ्चालन भएको हो । तालिम १८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुधनकुमार पौडेलले कक्षामा प्रस्तुत हुँदा कसरी प्रस्तुत हुने, विद्यार्थीसँग कस्तो व्यवहार गर्ने ,पढाउने शैलीलाई कसरी आदर्श बनाउने भन्ने जस्ता कुराहरु तालिमले सिकाउने बताउनुभयो।
कालिका संस्कृत विद्यापीठका प्राचार्य एवं व्यवस्थापन समितिका वरिष्ठ सदस्य डा. केशवराज चालिसेको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा चालिसेले हामीसँग भएको ज्ञानलाई कसरी निखारेर सिपको रुपमा विकास गर्न सकिन्छ भनेर तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले नेपालमा भएका सबै विश्वविद्यालय विद्यालयमा क्षमता र गुणस्तरीयतालाई एकरुपता दिने लक्ष्य सहित यस्ता तालिम हुने बताउनुभयो।
कार्यक्रममा हरिहर सन्यास आश्रमका श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज ज्यू , निर्वतमान शिक्षाध्यक्ष प्रा. भोजराज जोशी, निर्वतमान कार्यकारी परिषद सदस्य प्रा डा. गुरु प्रसाद सुबेदी, कालिका संस्कृत विद्यापीठ संचालक समितिका अध्यक्ष ओमप्रसाद सापकोटा, गलेश्वर आश्रमका प्रतिनिधी एवमं वेदवेदांग गुरुकुल संचालक सदस्य स्वामी जगदिश्वरा नन्द लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
उपप्रा.( उपप्राध्यापक) श्यामा खनालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण उपरेखा नियन्त्रक साधारण लेखा तथा भुक्तानी अभिलेख महमशाखाका शाखा प्रमुख नवीन कुमार पोख्रेलले गर्नुभएको थियो ।
कालिका संस्कृत विद्यापीठका बटुकहरूले स्वस्तिवाचन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । तालिमले सहभागीहरूको पेशागत क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको छ । तालिममा ६० जनाको सहभागिता रहने जनाइएको छ ।