चौथो गैंडाकोट महोत्सवको आय-व्यय सार्वजनिक
गैंडाकोट । चौथो गैंडाकोट महोत्सव २०८२ को आर्थिक प्रतिवेदन पत्रकार भेटघाट कार्यक्रम मार्फत सार्वजनिक गरिएको छ। गत पौष २५ गतेदेखि माघ १० गतेसम्म सञ्चालन भएको उक्त महोत्सवको आम्दानी र खर्चको विस्तृत लेखापरीक्षण विवरण आयोजकले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।
सार्वजनिक विवरण अनुसार महोत्सव अवधिभर कुल ६५ लाख ७६ हजार ६ सय २६ रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ। आम्दानीका मुख्य स्रोतहरूमा स्टल बिक्री, टिकट बिक्री, बाल उद्यान, विभिन्न प्रायोजकहरू र नेपाल सरकारबाट प्राप्त सहयोग रहेका छन्। कुल आम्दानीमध्ये २४ लाख ६१ हजार ८ सय ६५ रुपैयाँ नगद संकलन भएको छ भने ४१ लाख १४ हजार ७ सय ६१ रुपैयाँ बोलकबोल अर्थात् उठ्न बाँकी रकम रहेको छ ।

यस्तै, महोत्सव सञ्चालनका लागि कुल २४ लाख १६ हजार २१ रुपैयाँ ५१ पैसा खर्च भएको प्रतिवेदनमा उल्लेख छ। आयोजकका अनुसार कर्मचारी तलब, इन्धन, प्रचारप्रसार, मञ्च व्यवस्थापन, सुरक्षालगायतका २४ वटा शीर्षकमा उक्त रकम खर्च भएको हो । जसमध्ये सबैभन्दा धेरै रकम अतिथि सत्कारमा ३ लाख ३६ हजार र जलपानमा २ लाख १ हजार रुपैयाँ खर्च भएको देखिन्छ।
महोत्सवको नगद आम्दानी र कुल खर्चको हिसाब गर्दा कर कट्टा गर्नुअघि ४५ हजार ८ सय ४४ रुपैयाँ नाफा भएको छ। उक्त नाफाबाट नियमानुसार २५ प्रतिशत कर कट्टा गरेपछि महोत्सवको खुद नगद बचत ३४ हजार ३ सय ८३ रुपैयाँ मात्र सीमित भएको देखिन्छ।

कार्यक्रममा बोल्दै जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छबिलाल कँडेलले महोत्सवले आर्थिक मन्दीका बीच पनि स्थानीय व्यापार र पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण टेवा पु¥याएको बताउनुभयो। वरिष्ठ उपाध्यक्ष कँडेलले भन्नुभयो, “नगद बचत थोरै देखिए पनि यसले समग्र गैंडाकोटको आर्थिक चलायमानतामा ठुलो ऊर्जा थपेको छ । बोलकबोल भएको बाँकी ४१ लाख रुपैयाँ संकलनका लागि हामीले ताकेता गरिरहेका छौँ, त्यो रकम उठ्नासाथ महोत्सवको कुल बचत ४१ लाख ६० हजार रुपैयाँ पुग्ने र त्यसलाई सामाजिक क्षेत्रमा लगानी गरिनेछ ।