बालमैत्री विद्यालय निर्माणको पूर्वाधारका लागि गैंडाकोट नगरपालिकाको निर्देशन
गैंडाकोट नगरपालिकाले बालमैत्री विद्यालयका सन्दर्भमा विभिन्न गुनासो, नागरिक समाज र बाल सञ्जाल समेतको चासोलाई मध्यनजर गरी विद्यालयलाई बालमैत्री बनाउन मद्दत गर्ने कुरालाई ध्यानमा राखि आठ बुँदे निर्देशन जारी गरेको छ । नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यद्वारा हस्ताक्षरित चलानी नं २५४ को पत्रानुसार सो आठ बुँदे निर्देशन कार्यान्वयन गर्नु गराउनुहुन सामुदायिक, धार्मिक र संस्थागत विद्यालयहरुलाई अनुरोध गरिएको छ ।
विद्यालयको चारै तर्फ १०० मिटरको दूरी भित्र मद्यपान, धुम्रपान र सुर्तिजन्य वस्तुहरु बिक्रि बितरण गर्न नदिने सो विपरित कार्य गरेमा कानुन बमोजिम कार्वाही समेत हुनेछ र सो कार्य रोक्न सावधान बोर्डहरु टाँस गर्ने गराउने, विद्यालयका क्यान्टिनहरुमा गुणस्तरहिन सामाग्रीहरु प्रयोग नगर्ने नगराउने, मापदण्ड विपरितका स्कूल बसहरु संचालन नगर्ने नगराउने, तिब्र गतिमा बसहरु सञ्चालन गर्न नदिने, स्कुलहरुका व्यवसायिक भवनहरुमा बालबालिकाहरुलाई असर गर्ने प्रकृतिका व्यवसाय सञ्चालन गर्न नदिने, विद्यालयको शौचालय सरसफाईमा विशेष ध्यान दिइ शौचालयमा चुकुल र साबुन पानीको अनिवार्य रुपमा व्यवस्था गर्ने, विद्यालय हाता भित्र कुहिने र नकुहिने फोहर व्यवस्थापनको प्रबन्ध मिलाउने, विद्यार्थीहरुलाई स्वस्थ र सफा पिउने पानीको व्यवस्था मिलाई बालमैत्री धाराको प्रबन्ध गर्ने गराउने,
बालबालिकाहरुसँग शिक्षक, अभिभावक र अन्य सरोकारवालाहरुले बालमैत्री पूर्ण व्यवहार गर्ने गराउने जस्ता विषयमा चासोका साथ यथाशिघ्र कार्यान्वयन गर्नु गराउनुहुन निर्देशन गरिएको छ ।

साथै गैंडाकोट नगरपालिकाले बालमैत्री विद्यालय निर्माण कार्यलाई अगाडि बढाउन आठ बुँदामा महत्वपूर्ण निर्देशन गरेकोमा जिल्ला बाल क्लब सञ्जालका अध्यक्ष शिषिर आचार्य र गैंडाकोट नगर बाल सञ्जाल अध्यक्ष संसार सापकोटाले धन्यवाद व्यक्त गर्दे प्रत्येक विद्यालयमा कार्यान्वयन भए नभएको गैंडाकोट नगरपालिकासँग समन्वय गरी अनुगमन गर्ने कुरा व्यक्त गर्नुभयो ।