गैंडाकोट-८ मा जनप्रतिनिधिसँग दलित समुदायको छलफल 

२०८३ जेठ २९ शुक्रबार १७:१४:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर ८ को आयोजनामा जनप्रतिनिधि र दलित समुदायबीच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार वडा कार्यालयमा आयोजित कार्यक्रममा दलित समुदायका सदस्यहरूले आफ्ना समुदायसँग सम्बन्धित समस्या, गुनासा, सुझाव तथा हितका विषयमा जनप्रतिनिधिसँग छलफल गरेका हुन् ।


कार्यक्रम दलित समुदायका ज्येष्ठ सदस्य लालबहादुर विश्वकर्माको अध्यक्षता तथा वडा अध्यक्ष प्रेम सापकोटाको आतिथ्यतामा सम्पन्न भएको थियो।


कार्यक्रममा बोल्दै सदस्य विश्वकर्माले संविधानले दलित समुदायका अधिकार सुनिश्चित गरे पनि ती अधिकारको पूर्ण कार्यान्वयन हुन नसकेको बताउनुभयो। उहाँले दलित समुदायप्रति समाजको व्यवहारमा अपेक्षित परिवर्तन आउन नसकेको उल्लेख गर्दै बोली र व्यवहारबीच अझै पनि अन्तर देखिने गरेको धारणा राख्नुभयो ।


त्यसैगरी, वडा अध्यक्ष सापकोटाले वडा कार्यालयले दलित समुदायको उत्थानका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले वडाबाट सञ्चालन हुने कार्यक्रमहरूमा समुदायको सहभागिता अपेक्षाकृत कम हुनुका कारणबारे जिज्ञासा राख्दै समुदायको आर्थिक, सामाजिक तथा शैक्षिक विकासका लागि वडाले के-कस्ता सहयोग गर्नुपर्ने हो भन्ने विषयमा सुझाव माग्नुभयो ।


छलफलका क्रममा सहभागीहरूले रोजगारी सिर्जना हुने खालका सीपमूलक तालिम, आवश्यक उपकरण उपलब्ध गराउने व्यवस्था तथा आयआर्जनका अवसर बढाउनुपर्ने माग राखेका थिए। साथै, समुदायका विभिन्न समस्या र आवश्यकताबारे सुझाव तथा सल्लाहसमेत प्रस्तुत गरेका थिए।


कार्यक्रममा वडा सदस्य कमला आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने सुशिला परियारले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सहजीकरण वडा सचिव रमेश आचार्यले गर्नुभएको थियो।


छलफल कार्यक्रममा वडा जनप्रतिनिधि तथा दलित समुदायका सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा उठाइएका माग, सुझाव तथा समस्याको सम्बोधनका लागि वडा कार्यालय प्रतिबद्ध रहेको जनाउँदै वडाले आवश्यक पहल गर्ने जनाएको  छ ।

ताजा खबर