गण्डकी सहकारीका संद्दघचालकहरुको क्षमता अभिबृद्धिका लागि उत्प्रेरणात्मक

२०८० चैत २३ शुक्रबार १६:३९:०० मा प्रकाशित


नवलपुर । गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सञ्चालकहरूको क्षमता अभिवृद्धिका लागि उत्प्रेरणात्मक कार्यक्रम संचालन गरेको छ ।

शुक्रबार गैँडाकोट नगरपालिका भित्र रहेका ७ वटै सेवा केन्द्रका समिति तथा  उपसमितिलाई उत्प्रेरणात्मक कार्यक्रम संचालन गरिएको हो ।

नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेले समितिलाई प्रशिक्षण दिनुभएको हो । उहाँले संस्था कसरी चलाउने, पछिल्लो समय सहकारीमा देखिएको समस्या आफ्नो सहकारीमा आउन नदिन के गर्ने लगायतका विभिन्न बिषयमा जानकारी दिनुभएको थियो । 


गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले सहकारीको नियमन गर्ने सवालमा स्थानीय, प्रदेश र संघको जिम्मेवारीमा नितिगत रुपमै स्पष्ट नभएका कारण पनि पछिल्लो समय सहकारीमा समस्या देखिन थालेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय रुपमा देखिएको आर्थिक मन्दिका कारण पनि समस्या देखिएको उहाँको भनाई छ । 


गण्डकी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पोषणराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सुवेदीले संस्थाको अवस्थाको बिषयमा जानकारी गराउनुभएको थियो । उहाँले संस्थामा हाल २० करोड शेयर पूँजी रहेको, बचत १ अर्ब ४९ करोड रहेको र ऋण लगानी १ अर्ब २७ करोड रहेको जानकारी दिनुभयो । संस्थाका हाल नगद तथा बैंक मौज्दात २५ करोड रहेको उहाँको भनाई छ । 
गैँडाकोट १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी, गैँडाकोट नगरपालिकाको सहकारी शाखा प्रमुख देवेन्द्रराज गौतम, संस्थाका पूर्व अध्यक्षहरु, संचालक समिति लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका प्रथम उपाध्यक्ष केदारनाथ न्यौपानेले राख्नुभएको थियो ।