गैँडाकोट १२ मा भएको आयुर्वेद शिविरमा ३४३ जनालाई सेवा प्रदान 

२०८० चैत २४ शनिबार १९:०५:०० मा प्रकाशित

नवलपुर । गैँडाकोट नगरपालिका वडा नम्बर १२ मा निःशुल्क आयुर्वेद स्वाथ्य शिविरमा आयुर्वेद सेवा प्रदान गरिएको छ । 

गैँडाकोट नगरपालिका आयुर्वेद शाखा तथा गैँडाकोट आयुर्वेद औषधालयको आयोजनामा भएको शिविरमा ३ सय ४३ जनाले आयुर्वेद स्वास्थ सेवा लिएको गैँडाकोट आयुर्वेद शाखा गैँडाकोट आयुर्वेद औषधालयका कार्यालय प्रमुख वरिष्ठ कविराज विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । रोगको पहिचान गरी अवस्था हेरी ग्याष्ट्रिक, बाथ, पायल्स, शरीर दुख्ने लगायतका बिरामीलाई आयुर्वेद औषधी प्रदान गरिएको पौडेलले बताउनुभयो । 

शिविर उद्घाटन सत्रमा गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले आयुर्वेद सेवालाई सहि तरिकाले प्रयोग गर्न आग्रह गर्नुभएको छ । गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइरालाले आयुर्वेद सेवाको प्रवद्धन गर्न कार्यक्रम सञ्चालन गरिएको र आगामी दिनमा पनि अन्य स्थानमा यस्ता शिविर निरन्तरता दिइने बताउनुभएको छ । 

शिविरमा डाक्टर चन्द्रकान्त ज्ञावली, सुजता शर्मा लगायतको चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । कार्यक्रम गैँडाकोट १२ का वडा अध्यक्ष चक्रपाणि कंडेलको अध्यक्षतामा सम्पन भएको थियो । सो अवसरमा जनप्रतिनिधि स्थानीय संघ संस्थाका प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।